
पोखरा – हरेक वर्ष झैँ यस वर्ष पनि २७ औँ अन्तराष्ट्रिय अपांगता दिवस आज (डिसेम्वर ३) मनाइँदै छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भित्रै पर्ने यस दिवसमा ‘अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण र समावेशिता तथा समानताको सुनिश्चितता’ भन्ने अन्तर्राष्ट्रिय नारा रहेको छ भने ‘मलाई गणना गर मलाई समावेश गर’ भन्ने राष्ट्रिय नारा रहेको छ । अपांगता भएका व्यक्तिहरुले हक अधिकारको सुनिश्चितासँगै जीवन परिवर्तनको अपेक्षा गरेका छन् ।
कास्की जिल्लामा क्रियासिल आपाङ्गता सम्बन्धी संघ संस्था प्रतिनिधि एवं सदस्यहरुको अपांगता दिवस सम्बन्धी धारणा यस्तो छ ।
‘वषैपिच्छे आउने यस दिवस केवल दिवसको रुपमा मात्रै हुनु हुँदैन । हामी चाहान्छौँ यो दिवसले अपांगता भएकाहरुको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याओस् । कतिपय संघ सस्थाले केवल ह्विल चियर केही थान सामाग्री बाँडेर अपांगताको क्षेत्रमा सहयोग गरिरहनु भएको छ । यो सहयोग पनि राम्रो हो । तर म भन्छु अब यसमा मात्रै सिमित नगरियोस् ।
उनीहरुको जीवनयापनकोलागि उनीहरुको क्षमताको पहिचान गरि सो अनुसारको तालिम र रोजगार तिर पनि ध्यान दिन आग्रह गर्दछु । अपांगता भएकाहरुलाई सधै परनिर्भर बनाउन भन्दा आत्मनिर्भर बनाउन तर्फ सोचि दिन आग्रह गर्दछु । यसवर्षको राष्ट्रिय नारा रहेको छ ‘मलाई गणना गर मलाई समावेश गर’ यो महत्वपूर्ण कुरा हो ।
अपांगता भएका भित्र समावेशीलाई ध्यान दिनु पर्दछ । सबै सार्वजनिक स्थल र साधनहरु अपांग मैत्री हुनु पर्दछ । शिक्षा, स्वास्थ्य र रोजगारको अवसरबाट अधिकांश अपांगता भएकाहरु बञ्चितमा परेका छन् । उनीहरुको बारेमा राज्य संवेदनशिल हुनुपर्छ । भावि दिनमा अपांगता सहायक साम्रागी प्रत्येक प्रदेशमा उत्पादन हुने योजना तिर ध्यान दिन अनुरोध गर्दछु
अन्जना केसी
अध्यक्ष
अपाङ्ग महिला सशक्तिकरण केन्द्र
यस वर्ष पनि अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण र समावेशिता तथा समानताको सुनिश्चितता भन्ने अन्तर्राष्ट्रिय र ‘मलाई गणना गर मलाई समावेश गर’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रभर अपाङ्ग दिवश मनाउन लागिएको परिप्रेक्ष्यमा अपांगता भएकाहरुको सामाजिक चुनौति, समस्यालाई निराकरण गर्न स्थानिय तहबाटै विशेष पहल हुनुपर्दछ । अपांगता भएकाहरुको सामान्य दिनचर्याको लागि पनि थुप्रै अप्ठ्याराहरु भोग्नु परिरहेको छ ।
नेपाल सरकारले जारी गरेको भौतिक पहुच तथा संञ्चार सेवा निर्देशिका लागु गर्नु पर्दछ । अपांगता भएकाहरुलाई विकासको मुल धारमा ल्याउनु पर्छ । त्यसकालागि सशक्तिकरण जरुरी हुन्छ । सशक्तिकरणकालागि आत्मबल बढाउने सहज शिक्षा, तालिम, सहयोगी सामाग्रिको जरुरी हुन्छ । पहिचानको अधिकार अर्को महत्वपूर्ण कुरा हो । यस अघिको अपांगता परिचय पत्र अब्यवहारिक भएकाले राज्यले भर्खर मात्रै संशोधन गरि नयाा कार्यविधि बनाइएको छ । यसको पूर्ण कार्यान्वयन हुनुपर्छ । पूर्ण अशक्तहरुलाई विशेष सामाजिक सुरक्षा हुनुपर्छ ।
हेम गुरुङ
अध्यक्ष
स्वालम्बन जीवन पद्धति केन्द्र पोखरा
अपाङ्गता सम्बन्धी कानुनहरु प्रभावकारी कार्यान्यन हुन सकेको छैन । आरक्षणमा दुरुपयोग भएको तथा स्थानीय सरकारहरु अपाङ्गतामैत्री हुन सकेका छैन । संघीय संरचनाबाट तीन तहको सरकार भइरहेको सन्दर्भ अब अपांगता भएकाको आवाज स्थानिय तहमै सुनुवाई हुुनुपर्छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले यस वर्षको अपाङ्ग दिवसका दिन सहायक सामग्री वितरण गरी अपाङ्गता क्षेत्रका लागि छुट्याइएको बजेट कार्यान्वयन थालनी गर्न लागेको छ ।
यो सँगै अपांगता भएकाहरुको क्षमताको पहिचान गरी सोहि अनुसारको तालिम दिन जरुरी छ । राज्यको मुलधारामा अपांगता भएकाहरुलाई पनि समावेश गरेर समावेशी नीतिलाई आत्मसात गर्नु पर्दछ । यस वर्ष राष्ट्रिय र अन्तराष्ट्रिय नारालाई सार्थक पार्न अपांगता भएकाप्रति सकारात्मक दृष्टिकोणको खाँचो जरुरी छ ।
अपांग व्यक्तिहरुबीच पनि विविध समस्या छन् । पूर्ण अशक्त बाहेक कतिपय केहि गर्न सक्ने हुनुहुन्छ उहाँहरु जागरुक भएर आउनु पर्छ । सधै आफूलाई कमजोर सम्झेर परिनिर्भर बन्दै दया माया र विचराको पात्र बन्नु हुँदैन ।
श्रीराम सापकोटा
सल्लाहकार
राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश
वर्षमा एक दिन भए पनि अपांगता अधिकार दिवस मनाइँन्छ । यसलाई सकारात्मक रुपमै लिनु पर्छ । यद्यपि आजभोलि कतिपय दिवसहरु औपचारिकतामा सिमित हुँदै गएका छन् । यसले अपांगता अधिकारको उति सम्मान गरेको जस्तो लाग्दैन । केहि शहरबजारमा सिमित जो अपांगता अधिकारमा मात्रै सिमित छन् ।
उनीहरुमा मात्रै यस्ता कार्यक्रम सिमित हुन्छन् । वर्षै पिच्छे उहि र उस्तै मान्छे मात्रै कार्यक्रममा सहभागि र उस्तै प्रकारको कार्यक्रमले खासै परिवर्तनको अनुभुति हुन सकेको छैन । हामीजस्ता सडकमा बसेर घाम पानि झरी बादलको सामाना गरेर जिविकोपार्जन गरीरहेकाहरुकालागि राज्यले रोजगार सृजना गर्नुपर्छ ।
सामाजिक सुरक्षाको ग्यारेन्टि गरिनुपर्छ । अपांगता भएको आवाजलाई नदबाई उनीहरुको मानव अधिकारलाई सम्मान गर्दै सोहि अनुसारको सिप प्रदान गरेर जीवन यापन सहज हुन सके अपांगता भएकाहरुकोलाई केहि राहत हुने थियो ।
जीवन गिरी
साधारण सदस्य
सृजनशिल अपांग समाज