
पोखरा – मंसिर १३ गते पोखराको सेती नदी खोँचमा कायाकिङ गर्ने क्रममा परेर मृत्यु भएकी अष्ट्रेलियाली नागरिक क्यासिन्ड्रा इसाइज एमारीको नेपाली परम्परा अनुसार दाहसंस्कार गरिएको छ।
नेपालको प्राकृतिक सुन्दरतासँग अति रमाउने क्यासिन्ड्राको उनका अभिभावका आएर नेपाली परम्परा अनुसार दाहसंस्कार गरेका हुन्।
२३ वर्षीया क्यासिन्ड्रा विगत पाँच वर्षदेखि नेपालमा आवतजावत गर्दै आएकी थिइन्। नेपालका खोलानाला, वन–जंगलसँग असाध्यै रमाउने क्यासिन्ड्रा नेपालप्रेमी भएकाले उनको नेपाली नेपाली परम्परा अनुसार दाहसंस्कार गरिएको उनकी आमा शुले जानकारी दिइन्। क्यासिन्ड्रा आमा बुबा र दिदीभाइ दाह संस्कारका लागि नेपाल आएका थिए।
पोखराको लामाचौरस्थित अकलादेवी मन्दिर तलको खोँचमा उनी सवार कायक बेपत्ता भएपछि उनको खोजी गर्दा १० मिनेटमै उनको खुट्टा देखेपछि उद्दार गरिएको नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सी (नारा)का अध्यक्ष निम मगरले जानाकारी दिए।
घाइते उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको हो।
मगरका अनुसार क्यासिन्ड्रा कायाकिङ एक्सपर्ट मानिन्थिन्। फेरि पनि त्यो दिनको दुर्घटना अकल्पनीय भएको मगर बताउँछन्। ‘हामीले सोच्दै सोचेनौँ सँगसँगै थियौँ, उनले कायक चलाइरहेकी थिइन्, एक्कासी नदेखेपछि खोज्यौँ, उनी ढुंगामुनि होलमा परेकी रहिछन्, १० मिनेटमै उनको खुट्टा देखियोलगत्तै अस्पताल पुर्यायौँ, अफसोच उनी बाँचिनन्,’ उनले भने।
क्यासिन्ड्राले जापानमा २०१७ मा भएको र्याफ्टिङ विश्व च्याम्पियनशीप प्रतियोगितामा नेपाली खेलाडीलाई सहभागी गराउन भूमिका खेलेकी थिइन्।
क्यासिन्ड्राको शबलाई नेपाली संस्कारअनुसार मलामीसहित दुर्घटनास्थलमै लगिएको थियो। दुर्घटनाबाट उद्दार गरेर जुन ढुंगामा राखिएको थियो, त्यही ढुंगामाथि नेपाली संस्कार अनुसार दाहसंस्कार गरिएको मगरले जानकारी दिए।