
बिर्तामोड – जगतगुरु मोहनशरणले हिन्दु राष्ट्र पुनः स्थापनाका लागि जुनसुकै पार्टीको कार्यक्रम भए पनि आफू उपस्थित हुने बताएका छन्।
झापाको बिर्तामोडमा शनिबार आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको हिन्दु राष्ट्र पुनः स्थापना जनजागरण कार्यक्रममा मोहनशरणले धर्म भनेको समाजको अनुशासन भएको बताएका छन्।
उनले भने, ‘हिन्दु राष्ट्र नेपालको पहिचान हो, प्रतिष्ठा हो, हिन्दु राष्ट्र नेपालको स्वाभिमान हो, गौरव हो।’ उनले राप्रपाको कार्यक्रममा आएर बोल्दा आफूलाई सोही पार्टीको कार्यकर्ता नसोचिदिन आग्रह गरे।
जगतगुरु मोहनशरणले भने, ‘जगतगुरु कहिले पनि राप्रपाको कार्यकर्ता हुन सक्दैन, कुनै दलको कार्यकर्ता हुन सक्दैन, तर हिन्दु राष्ट्रको अभियान कम्युनिष्ट–कांग्रेस जसले गरे पनि सहभागी हुन्छु।’
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष कमल थापाले हिन्दुलाई चिड्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।
केही दिनअघि काठमाडौँमा भएको युनिभर्सल पिस फेडेरेशनको कार्यक्रमलाई लक्षित गर्दै थापाले आगोसँग नखेल्न सरकारलाई चेतावनी दिएका हुन्। थापाले भने, ‘आइन्दा सरकारले यस्तो हर्कत नगरोस्, आगोसँग खेल्ने काम नगरोस्।’
उनले हिन्दु जनजागरण कार्यक्रम बेमौसमको बाजा नभएको बताए। हिन्दु राष्ट्र पुनः स्थापनाको अभियान चुनावका बेलामा मात्र गरिने मुद्दा नभएको उनले बताए।
थापाले भने, ‘यो हाम्रो निरन्तरको संघर्ष हो, यो अभियान कुनै धर्मका विरुद्धमा गरिएको होइन, यो अभियान नेपालीहरु आस्था र विश्वासको संरक्षणका लागि गरिएको हो।’
राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले अहिले राप्रपालाई भोट होइन, सपोर्ट चाहिएको बताए। हिन्दु राष्ट्र पुनः स्थापनाको अभियानमा जनताको सपोर्ट राप्रपालाई चाहिएको उनले बताए।
लिङदेनले भने, ‘तपाईहरुले केही दिनअघि काठमाडौँमा गरिएको जात्रा देखिहाल्नु भयो, विदेशीहरु धार्मिक द्वन्द्व निम्त्याउन पैसाको खोला बगाएर लागिपरेका छन्, तपाई हामी सजग हुनुपर्छ।’