
काँकरभिट्टा – मेचीनगर नगरपालिका ६ का आगलागी पीडित धनवीर तामाङ आगो लागेको ३० मिनेटमा मात्र दमकल आएकोमा आक्रोस पोख्दै थिए।
उनका अनुसार दमकल आउँदा दुईवटा घर ध्वस्त भइसकेका थिए। दमकल आए पनि ट्यांकीमा एक चौथाई पानी बोकेर आएको भन्दै स्थानीयबासीले नगरपालिका नेतृत्वको आलोचना गरिरहेका थिए।
आगलागी पीडित तामाङले भने, ‘दमकलले राम्ररी काम गरेको भए कम्तीमा १० वटा घर बाँच्ने थिए।’ शुक्रबार बेलुका करिब ८ बजेतिर लागेको आगो राति करिब १० बजे मात्र नियन्त्रणमा आएको थियो। मेचीनगर नगरपालिका ६ काँकरभिट्टामा रहेको साठीविघामा आगो लाग्दा २२ वटा घर जलेका छन्।
मेचीनगरलगायत विर्तामोड, भद्रपुर तथा दमक नगरपालिकाका दमकलले आगो नियन्त्रणमा लिएका थिए।
मेचीनगरकै दमकल ढिला आएको भन्दै स्थानीयवासी आक्रोसित भइरहँदा नगरपालिकाका प्रमुख विमल आचार्यले भने दमकल समयमै आगलागी नियन्त्रणका लागि आइपुगेको दाबी गरेका छन्।
उनले भने, ‘कुनै पनि व्यक्तिको फोन आउँछ र हिँडिहालौं भनेर गाडीको स्टियरिङमा बसेको हुँदैन। स्टाफ बोलाउनु पर्यो। तयारी भएर हिँड्दा त्यस्तै हो नि ।’
आगलागी पीडित धनवीर तामाङले उनको करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको बताए। आगलागी क्षेत्रमा रहेका धेरै घरहरुमा पसल थिए। अहिले कुनै पसल बाँकी रहेनन्।
आगलागी भएको स्थानमा रहेको छविलाल सुब्बाको घरबाट आगो उठेको आगलागी पीडितहरुले बताएका छन्। बेलुका टुकी बालेर ताला लगाएर सुब्बा दम्पती बाहिर घुम्न गएका बेला टुकी लडेर सिलिन्डर ग्यासमा पर्दा उक्त सिलिन्डर एक्कासी विष्फोट भएपछि २२ घर सखाप हुने गरि आगलागीको घटना भएको अर्का आगलागी पीडित गोपाल मिश्रले बताए।
अब के गर्ने भनेर आत्तिएकी अर्की आगलागी पीडित प्रेमकुमारी श्रेष्ठ कति क्षति भयो भन्ने आफूले यकिन गर्ने हिम्मत समेत नभएको बताइन्।

आगलागी पीडितहरु। तस्बिर: उमाकान्त खनाल/देश सञ्चार
आगलागी पीडितका लागि नेकपाका कार्यकर्ताले स्थायी रुपमा त्यहीँ बसोबास गर्ने १६ परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ र त्यहाँ पेशा गर्ने तर बाहिर घर हुनेलाई प्रति परिवार पाँचहजार रुपैयाँका दरले राहत वितरण गरेका छन्। अन्य राहतका लागि रेडक्रसका सदस्यहरु खटिएका छन्।