
दमक – तेस्रो मुलुक पुनर्स्थापनाबाट रहेका करिब साढे ६ हजार भुटानी शरणार्थीको भविष्य अन्यौलमा परेको छ। अमेरिका, अस्ट्रेलियालगायत विभिन्न युरोपेली मुलुकहरुमा पुनर्स्थापना भइ शिविरमा अहिले ६ हजार ६ सय ३४ भुटानी शरणार्थी रहेका छन्। विभिन्न मुलुकहरुमा एक लाख १३ हजार भन्दा बढी शरणार्थी पुनर्स्थापित भइसकेका छन्।
नेपालले शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय सन्धीमा पनि हस्ताक्षर नगरेको अवस्थामा उनीहरुलाई नेपालमै समायोजन गर्न पनि अप्ठ्यारो हुने सरकारी अधिकारीहरु बताउँछन्। गृह मन्त्रालयका अनुसार नेपाल सरकारले अहिले त्यस विषयमा प्राथमिक्ता दिएको छैन। तर स्थानीय सरकारहरुले शरणार्थी बाल बालिकाहरुको जन्मदर्ता गर्ने काम भने केही बर्ष अघिदेखि शुरु गरिसकेका छन्।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भन्छन्, ‘शरणार्थीलाई कसरी भुटान नै फर्काउन सकिन्छ भन्ने विषयमा अहिले हामी छलफलमा छौं। भुटानमा सरकार पनि परिवर्तन भएको छ। वार्ता गर्न सकिएला भन्ने छ।’
तर विगतका सरकारहरुसँग पनि शरणार्थीको विषयलाई लिएर धेरै पटक वार्ता भए। तर कुनै वार्ता निष्कर्षमा पुगेन। अन्ततः शरणार्थीहरु शिविरमै रहे। त्यसपछि तेस्रो मुलुक पुनर्स्थापनाको कार्यक्रम अगाडि बढ्यो। जुन शरणार्थी समस्या समाधानको अन्तिम विकल्प थियो।
झापाको बेल्डाँगी र मोरङको शनिश्चरे शिविरमा अहिले बाँकी रहेका भुटानी शरणार्थीहरु छन्। शरणार्थीको संख्या सानो हुँदै गएपछि उनीहरुलाई सहयोग गर्दै आएका दातृ संस्थाहरुले पनि हात झिक्दै गएका छन्। शरणार्थी बाल बालिकाहरुलाई नेपालका सामुदायिक विद्यालयहरुमा पढाउन थालिएको छ भने स्वास्थ्य जाँचका लागि सरकारी अस्पतालहरुमा पठाउन थालिएको छ।
विश्व खाद्य कार्यक्रमले शरणार्थीका लागि खानेकुरा दिँदै आएकोमा सन् २०१९ को शुरुवातदेखि त्यस्ता कुनै पनि सहयोग बन्द गर्ने घोषणा गरिसकेको छ। अब बिहान बेलुका कसरी खाने भन्ने चिन्ता शरणार्थीहरुलाई छ। लामो समय एकलै बस्दै आएकी बेल्डाँगी शिविरकी कान्छीमाया लिम्बुले भनिन्, ‘रोगी छु। काम गर्न जान पनि सक्दिन। अब कसरी खाने भन्ने चिन्ताले पिरोलेको छ।’
तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रमबाट रहेका शरणार्थीमा बुढापाका, अशक्त तथा अपांगता भएकाहरु रहेका छन्। उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ। सन्तानको स्याहार चाकर पाउने बेलामा धेरै बृद्ध/बृद्धा एकलो जीवन बिताउन वाध्य छन्।
नेपालमा रहने भुटानी शरणार्थीको जीवन कसरी सहज बनाउन सकिन्छ भनेर काम गरिराखिएको शरणार्थी सम्बन्धि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको नेपाल कार्यालयका अधिकारीहरुले जनाएका छन्।
युएनएचसीआरका सूचना अधिकारी दिपेशदास श्रेष्ठका अनुसार भुटान फर्कन चाहने शरणार्थीका लागि भुटान र नेपाल सरकारसँग वार्ताको सहजीकरण गर्ने प्रयास जारी राखिएको छ। तर वार्ता अझै पनि निश्चित छैन।