
वीरगञ्ज – आधुनिक युगमा प्रविधिको विकाससँगै हरेक काम गर्न मेसिनको प्रयोग भइरहेको छ । त्यही मेसिनको प्रयोगबाट मानिसको जीवनयापन पनि सहज भएको छ । मेसेनरी उपकरणकै प्रयोगबाट धेरैले राम्रो कमाई पनि गरिरहेका छन् ।
तीनै मध्येका एक हुन्, सहरुम मिँया धुनिया । त्यसो त उनी भारतीय नागरिक हुन् उनको घर भारत बिहार राज्यको पुर्वीचम्पमरण जिल्ला पचभिडिया गाउँमा हो तर अहिले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २१ परवानीपुर बजारमा डेरा गरि बस्दै आएका छन् ।
उनले मेसिनबाट पूराना कपडाहरुको धुलाई गरी रुई बनाएर लोभ लाग्दो आम्दानी गरिरहेका छन् । गाउँ गाउँमा उनी मेसिन लगेर जान्छन् र पुराना कपडा धुलाई गर्नेहरुको भीड बढ्छ । धुनियाले यो कामबाट दैनिक तीन देखि चार हजार आम्दानी भइरहेको बताए ।
धुनियाले यो मेसिन भारतबाटै लिएर आएका हुन् । उनी दैनिक बिहानदेखि बेलुकासम्म गाउँ गाउँमा मेसिन लगेर जान्छन् । उनले स्थानीयको घरमा भएका र कामै नलाग्ने पुराना कपडाहरु पेलेर रुई बनाउने मात्रै होइन त्यसै रुईबाट जाडो छल्ने सिरक र डसना समेत बनाउँछन् ।
पुराना कपडाहरुको सदुपयोग भएपछि स्थानीय बासिन्दाहरुले पनि आफूसँग खुसी व्यक्त गर्ने गरेको उनले सुनाए । धुनियाले यो कामका लागि चार जनालाई रोजगारी समेत दिएका छन् । उनले थोत्रा कपडा मेसिनमा पेलेर रुई बनाएवापत प्रतीकिलो रु.३० र सिलाई वापत रु.५०० लिने गरेका छन् । सिरक र डसनाका लागि आवश्यक पर्ने कपडा पनि उनले बेच्ने गरेका छन् ।
यो कामका लागि मेसिन र कामदार भारतबाटै लिएर आएका धुनियाले ट्याक्टर भने नेपालबाटै भाडामा लिएका छन् । प्रतिमहिना २५ हजार तिरेर ट्याक्टर भाडामा लिएको उनले बताए । ‘उताबाट ट्याक्टर लिएर आए भन्सारको झन्झट हुन्छ,’ धुनियाले भने, ‘नेपालबाटै भाडामा ट्याक्टर लिएर काम गर्दै आएको छु ।’