
विर्तामोड- झापा विर्तामोडको विर्तासिटी अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु प्रकरणको विस्तृत छानविन गर्न मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरको संयोजत्कत्वमा छानविन समिति गठन भएको छ।
सोमबार बिहान प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा अस्पताल व्यवस्थापनको बैठकले उक्त समिति बनाउने निर्णय गरेको हो।
समितिको सदस्यहरुमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक, जिल्ला प्रशासन कार्यालय झापाका शाखा अधिकृत लगायत रहेका छन्।
उक्त समितिलाई दस दिन भित्र छानविनको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई पेश गर्न भनिएको छ। बैठकले बालकको उपचारको क्रममा लापरवाही गर्ने अस्पतालका कर्मचारीलाई पीडितको पक्षको जाहेरीको आधारमा कानुनी कार्वाही अगाडि बढाउने निर्णय गरेको छ।
उपचारका क्रममा बालकको मृत्यु भएपछि आक्रोशित आफन्तले बिर्ता सिटी अस्पतालमा गए राति तोडफोड गरेका थिए। चिकित्सक नभएका बेला अस्पतालकी नर्सले उपचार गर्दा उक्त बालकको मृत्यु भएको पीडितले दाबी गरेका छन्।
झाडा लागेर अस्पताल ल्याइएको भएपनि अस्पतालका कामदारको चरम लापरबाहीका कारण बच्चाको मृत्यु भएको आरोप लगाउँदै बच्चाका आफन्तले अस्पतालमा तोडफोड गरे।
बिर्ता सिटी अस्पतालमा उपचारका क्रममा मेचीनगर नगरपालिका १२ का दुई वर्षीय बालक जेनित राजवंशीको आइतबार राति मृत्यु भएको थियो।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो।छानविनका लागि अस्पतालका केही कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिए पनि प्रहरीले उनीहरुको नाम खुलाउन चाहेन।