
काठमाडौं-उपत्यकामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दैनिक औसत ८१ सवारी चालक मादक पदार्थ सेवन(मापसे)का कारण कारबाहीमा परेका छन्।
महानगरिय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पौष मसान्तसम्म १४ हजार पाँच सय ४२ सवारी चालक मापसे कारबाहीमा परेका छन्। दैनिक औसत निकाल्दा ८१ हुन आउँछ।
महाशाखाका अनुसार गत आर्थिक वर्षमा २८ हजार आठ सय ९६ सवारी चालक मापसे कारबाहीमा परेका थिए। यो संख्या दैनिक औसत ८० हुन आउँछ।
चालु आर्थिक वर्ष देशभर १९ हजार दुइ सय ६६ सवारी चालक मादक पदार्थ सेवनको कारबाहीमा परेका छन्। अर्थात काठमाडौंभन्दा बाहिर मापसे कारबाहीमा पर्ने सवारी चालकको संख्या चार हजार सात सय २४ छ। यसको दैनिक औसत २६ हुन आउँछ।
गत आर्थिक वर्षमा देशभर मापसे कारबाहीमा पर्ने सवारी चालकको संख्या ३८ हजार दुई सय ९७ थियो। अर्थात उक्त आर्थिक वर्ष काठमाडौं उपत्यकाबाहिर नौ हजार चार सय एक सवारी चालक मापसे कारबाहीमा परेका थिए। यसकौ दैनिक औसत २६ हुन आउँछ।
आर्थिक वर्ष ७०/७१ मा ६१ हजार पाँच सय ६४, ७१/७२ मा ५२ हजार ६ सय ९३, ७२/७३ मा ४१ हजार सात सय २० सवारी चालक मापसे कारबाहीमा परेका थिए।
महाशाखाले मापसे कारबाहीमा परेका, लेन अनुशासनमा परेका सवारी चालकलाई सचेतना कक्षा समेत सञ्चालन गर्दै आईरहेको छ। २०६८ सालदेखि मापसे कारबाही हुन थालेको हो।
त्यसको एक वर्षपछि कारबाहीमा परेका सवारी चालकलाई अनिवार्य सचेतना कक्षा सुरु गरिएको थियो।
काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षमा तीन हजार ६२ वटा दुर्घटना भएकामा ९२ वटा दुर्घटना मापसेका कारण भएको महाशाखाले जनाएको छ।
लेन अनुशासनमा कारबाही बढी
काठमाडौं उपत्यकाभित्र चालु आर्थिक वर्षको ६ महिनामा २४ हजार तीन सय ६१ चालक कारबाहीमा परेका छन्। दैनिक औसत निकाल्दा एक सय ३५ भन्दा बढी हुन आउँछ। चालु आर्थिक वर्षको पुससम्म देशभर ३१ ह्जार चार सय ३१ सवारी चालक कारबाहीमा परेका छन्।
अर्थात काठमाडौं उपत्यकाबाहिर पनि सात हजार ७० सवारी चालक लेन अनुशासनको कारबाहीमा परेको देखिन्छ। काठमाडौं उपत्यकाभित्र गत आर्थिक वर्षमा एक लाख ३१ ह्जार पाँच सय ३३ सवारी चालक लेन अनुशासन मिचेको कारबाहीमा परेका थिए।
उक्त अवधीमा देशभर एक लाख ६२ हजार ६ सय ८७ सवारी चालक लेन अनुशासन मिचेकोमा कारबाहीमा परेका थिए।
देशभर आर्थिक वर्ष ७०/७१ मा २२ हजार आठ सय तीन, ७१/७२ मा ८२ हजार नौ सय ९६ र ७२/७३ मा ७९ हजार नौ सय १८ सवारी चालक लेन अनुशासनको कारबाहीमा परेको प्रहरी प्रधान कार्यलयले जनाएको छ।
महाशाखाले २०७२ सालदेखी लेन अनुशासनमा कारबाही गर्न थालेको हो। त्यसको एक वर्षपछि कारबाहीमा परेका सवारी चालकलाई सचेतना कक्षा पनि सन्चालन गरिँदै आएको छ।
सचेतना कक्षा कहिलेसम्म ?
ट्राफिक प्रहरी महाशाखाले केही वर्षदेखी सचेतना कक्षा सन्चालन गरिरहेपनि मापसे गरि सवारी चलाउने र लेन अनुशासन मिच्ने घटनामा भने त्यति धेरै कमि आएको छैन।
रामशाहपथस्थित महाशाखाको कार्यलयमा हरेक दिन सचेतना कक्षा लिन चालकको भिड लाग्छ ।महाशाखा प्रमुख डीआईजी सर्बेन्द्र खनाल सवारी चालक आफै सचेत हुनुपर्ने बताउँछन्।
‘ प्रतिशतमा हेर्र्यौ भने पहिलाको तुलनामा यी घटनामा कमी आएका छन्।’, डीआईजी खनाल भन्छन्,‘ हामी कारबाही पनि गरिरहेका छौं।
सचेतना कक्षा पनि सन्चालन गरिरहेका छौं। ट्राफिक प्रहरी र ट्राफिक नियम हाम्रा लागि हो भनेर चालकले बुझ्नु जरुरी छ।’ मापसे कारबाहीमा एक हजार र लेन अनुशासन मिचेमा पाँच सय रुपैयाँ तिर्नुपर्ने प्रावधान छ।