
विर्तामोड-धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउने भनिएको अन्तररार्ष्ट्रिय क्रिकेट रंगशालामा सरकारले सहयोग गर्ने वचन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि झापाको कमल गाउँपालिका ५ मा बनाउने भनिएको तर नामका विवादले निर्माण शुरु हुन नसकेको रंगशाला बनाउनका लागि खेलकुद सम्बद्धहरुले सरकारसँग माग गरेका छन्।
झापाको दमक नगरपालिका, कमल गाँउपालिका र शिवसतासी नगरपालिकाका खेलकुदसँग सम्बद्ध संस्था तथा खेलाडीहरुले कमल गाँउपालिकाको लखनपुरमा रंगशाला निर्माण शुरु गर्न माग गरेका हुन्।
अन्यत्र सार्न लागिएको चर्चा चलेको भन्दै यस्तो माग गरेका हुन्।कमल गाँउपालिकाको साविक लखनपुरस्थित सशस्त्र प्रहरीको गण अगाडि नभए अन्यत्र ठाँउमा आफूहरु जग्गा खोज्न तयार रहेको उनीहरुले बताए।
मदन भण्डारी रंगशाला दमक नजिक लखनपुरमा बनाउने घोषणा भएकाले त्यो घोषणा तत्काल कार्यान्वयन गर्नुपर्ने दमक खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईले बताए।
शिवसतासी खेलकुद विकास समितिका संयोजक फुर्वा लामाले लखनपुरमा नभए आफुहरु शिवसतासीमा अन्तरराष्ट्रिय रंगशालाका लागि ठाँउ खोज्न तयार रहेको बताए।
नामका विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने झापाको कमल गाउँपालिका ५ बन्ने भनिएको अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको काम अघि बढ्न सकेको छैन।
स्थानीय आदिवासी समुदायका मानिसहरुको चिहान रहेको स्थानमा रंगशाला बनाउँदा आदिबासी रंगशाला नाम दिने भनेर गरिएको सहमति तोडिएको भन्दै नेपाली कांग्रेस लगायत अन्य समुदायका मानिसहरुले आपत्ति जनाएपछि उक्त रंगशालाको निर्माण रोकिएको हो।
तर केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारले उक्त रंगशालाको नाम मदन भण्डारी रंगशाला राख्ने निर्णय गरेपछि विवाद चुलिएको हो।
पहिलाको आफ्नो नेतृत्वको सरकारले नामाकरण गरेको मदन भण्डारी रंगशालाको नाममा विवाद गरेर निर्माणको काम रोकिएकोमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएका छन्।
कमल गाउँपालिका ५ लखनपुरमा रहेको सशस्त्र प्रहरीको गण नजिक रहेको करिब ३५ विगाह जमिनमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने निर्णय बमोजिम २०६७ सालमा उक्त रंगशालाको शिलान्यास भएको थियो।
केही रकम विनियोजन भएर निर्माणका केही काम पनि भए। रंगशाला बनाउने स्थानमा बर्षौंदेखि आदिबासी समुदायका मानिसहरुको चिहान बनाउने स्थान थियो।
आफ्ना बाजे बराजुका चिहान भएको स्थानमा रंगशाला बनाउँदा आदिबासी रंगशाला नामाकरण गर्ने सहमति तोडिएको भन्दै नेपाली कांग्रेस लगायत अन्य आदिबासी जनजाति संगठनका अगुवाहरुले असन्तुष्टि जनाए। नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य महिन्द्राकुमारी सुब्बाले आफ्ना पूर्वजहरुको इतिहास मेट्न नपाइने बताइन्। उनले भनिन्, ‘आदिवासी रंगशाला नाममा सहमति भइसकेको थियो। यो सरकारले हाम्रा पूर्खाको इतिहास मेट्ने काम गरेको छ नाम फेरेर।’
नामको विवादले उक्त रंगशाला निर्माणको काम अलपत्र परेको छ। तर रंगशालाको निर्माणमा दाताहरुको इच्छा अनुसार मदन भण्डारी नामाकरण गरिएको दाबी नेकपाका नेताहरुको छ। नेकपा झापाका नेता चिन्तन पाठकका अनुसार निर्माण गर्ने स्रोत जुटाउने कारणले पनि नाम परिवर्तन हुन गएको हो।
अन्तरराष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि अन्य स्थानमा जग्गा उपलब्ध नहुने भएकाले उक्त स्थान उपयुक्त भएको जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा बताउँछन्।
पछिल्ला दुई आर्थिक बर्षमा रंगशाला निर्माणका नाममा आएको एक करोड ३५ लाख रुपैयाँ फ्रिज भएको थियो। त्यसपछि उक्त रंगशाला निर्माणका लागि पैसा नआएको जिल्ला खेलकुद विकास समिति झापाले जनाएको छ।