
विर्तामोड- गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय नेता रामबहादुर थापा ‘बादल’ले यही फागुन दोस्रो हप्ताभित्र पार्टी एकताको सम्पूर्ण काम सक्ने हिसाबले कार्यदलले काम गरिरहेको बताएका छन्।
‘जनयुद्ध’ तथा जन आन्दोलनका सहिदका सम्झनामा नेकपा झापाले बुधबार विर्तामोडमा आयोजनाको गरेको श्रद्धान्जलि सभामा बोल्दै उनले पार्टी एकताको विकल्प नभएको बताए।
दुई पार्टी मिलेर एक बनेका कारण विभिन्न खाले विचारलाई समेट्नुपर्दा एकता प्रक्रिया टुंग्याउन समय लागेको थापाले बताए। उनले भने, ‘विगतमा आ-आफ्नै किसिमका राजनीति गरेर यहाँसम्म आएका पार्टीमा एकता गर्दा समय लागेको हो। फागुनको दोस्रो साताभित्र काम पूरा हुन्छ।’
अहिलेसम्म एकता प्रक्रिया टुंगोमा पुग्न नसक्नु पार्टीका विभिन्न खाले विचार बाधक बनेको उनको दाबी थियो। कार्यक्रममा उपस्थित पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले पार्टी एकता प्रक्रिया टुंगोमा पुर्याउन ढिलो भएको भन्दै असन्तुष्टि जनाएका थिए।
नेता थापाले कार्यकर्ताको भावना अनुरुप पार्टी एकता टुंगोमा पुर्याउनका लागि कार्यकर्ताको कुरा पार्टी नेतृत्वमा पुर्याउने आश्वासन दिए।
उनले पार्टी एकताको प्रक्रिया प्रदेशमा आएर अड्केको भन्दै अहिले सोही विषय बाम एकताका ‘बैरी’हरुका निम्ति खुशीको कुरा भइरहेको उनले बताए।
उनले भने, ‘पार्टी एकताको सवालमा विभिन्न विचारका बारेमा पार्टीका विभिन्न तहमा बहस चलाउन सकेनौं। त्यसैले पार्टी एकता समयमा टुंगिन सकेको छैन। जुन अहिले हाम्रा बर्ग शत्रुका लागि खुशीको विषय बनिरहेको छ।’
देशमा अहिले पनि बाम एकता विरुद्धका आवाज आइरहेको बताउँदै त्यस्लाई पराजित गर्न नेकपाको एकता अपरिहार्य भएको थापाले बताए। उनले भने, ‘अहिले पनि विभिन्न समूहमा हिंसा भड्काउने र नेकपाको एकता नचाहने शक्तिहरु जुर्मुराइरहेका छन्। ती आवाजलाई परास्त गर्नुछ।’
अब नेतृत्वसँग कार्यकर्ता लड्छन्- राम कार्की
नेकपाका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य राम कार्की ‘पार्थ’ले पार्टी एकता समयमा टुंगिएन भने पार्टी नेतृत्वसंग कार्यकर्ता लड्ने बताएका छन्।
सोही श्रद्धाञ्जलि सभामा नेता थापाप्रति लक्षित गर्दै उनले भने, ‘तपाईंहरुले नै लड्न सिकाउनु भो। कार्यकर्ताले सिकेको त्यही छ। कार्यकर्ताहरु अब तपाईंहरुसंग लड्छन्।’ उनले कार्यकर्तालाई सिर्जनात्मक काम दिन पार्टी नेतृत्वलाई आग्रह गरे।
सरकारमा पार्टीले ल्याएको काम तथा विभिन्न कार्यक्रमहरुमा छलफलका लागि जनतासमक्ष पुर्याउन पार्टीका कार्यकर्ता परिचालन गर्न उनले आग्रह गरे।
नेकपाको विकल्प नभएकाले पनि कार्यकर्ता कतै जाँदैनन् भनेर पार्टी नेतृत्वलाई दम्भ पलाएको हुनसक्ने आशंका कार्कीले गरे। उनले भने, ‘तर समय बलवान छ। समयले विकल्प खोज्न सक्छ। बेलैमा होस पुर्याउनु होला।’