सुर्खेत– सुर्खेत प्रहरीले अवैध रुपमा गरिएको अफिम खेती नष्ट गरेकाे छ। जिल्लाको लेकबेशी नगरपालिका–८ लामिडाँडामा गरिएको लागुऔषध अफिमको खेती नष्ट गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको १८ र इलाका प्रहरी कार्यालयबाट ६ जना गरी जम्मा २४ प्रहरी परिचालन गरी ६ विगाह जग्गामा गरिएको अफिम खेती नष्ट गरिएको हो।
लामिडाँडा वीरेन्द्रनगरदेखि करीब चार घण्टा टाढा पर्छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीपबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार ६ बिगाह जग्गामा करिव १ लाख रुपैयाँ बराबरको अफिम खेती गरिएको थियो।

लागूऔषध अफिम महँगो मूल्यमा बिक्री हुने भएकाले स्थानीय अफिमको खेती गर्छन्। नियमित अन्नबालीको खेतीभन्दा अवैध अफिम खेतीमा कम लगानी र परिश्रम पनि धेरै गर्नुनपर्ने भएकाले स्थानीयले जोखिम मोलेर भए पनि यसको खेती गर्दै आएका छन्।
अफिम खेती भएको जानकारी पाएलगतै प्रहरीले नष्ट गरेको डिएसपी क्षेत्रीले बताए। उनले अफिम खेती कसले गरेको हो भन्नेबारेमा पहिचान नभएको बताए। ‘भारतबाट कपडा विक्रि गर्न आएका व्यापारीहरुले तरकारीको बीउँ भनेर स्थानीयलाई दिएपछि रोपेको हो भन्ने छ’ उनले भने, ‘भिरपाखा जताततै अफिम उम्रिएकाले कसले रोप्यो भन्नेबारेमा खुलेको छैन्।’

व्यक्तिको पहिचान नखुल्दा अफिम खेतीगर्नेहरु सजिलै पक्राउ पर्दैनन्। गाउँघरदेखि टाढा र भीरपाखाको ऐलानी जग्गामा खेती गर्ने हुनाले जग्गाधनी पत्ता लगाउनसमेत कठिन हुने गर्छ। अफिम खेतीबारे सोधखोज गर्दा स्थानीयले समेत सही जानकारी नदिने हुँदा अवैध अफिम खेती नियन्त्रण गर्न समस्या भएको उनले जानकारी दिए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































