
काठमाडौँ- सरकारको कर्मचारी समायोजन नीतिप्रति असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। सरकारले आफूहरुका माग सही भएको बताएपनि पूरा गर्न तत्पर नभएको भन्दै ६ सय सरकारी चिकित्सकको राजीनामा संकलन भइसकेको र त्यसलाई सामूहिक रुपमा प्रदान गरिने सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष दिपेन्द्र पाण्डेले बताए।
तर चिकित्सकहरुको आन्दोलनले अस्पतालमा उपचारका लागि पुगेका बिरामीलाई भने मर्का परेको छ । आन्दोलनका कारण बिरामी स्वास्थ्य सेवाबाट बन्चित भएका छन्।
करिव दुई महिनादेखि आन्दोलित चिकित्सकहरुले बुधबार स्वास्थ्य सेवा दिवस बहिष्कार गर्दै देशभर आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। उपत्यका बाहिरका चिकित्सकहरुले पनि स्वस्फुर्त रुपमा सेवा बन्द गरेको अध्यक्ष डा. पाण्डेले बताएका छन्।
‘गोदानले पटक–पटक विधेयक सच्याउन सरकारलाई पत्राचार गर्दै आएको छ । तर सरकारले हाम्रा माग जायज रहेको भन्छ पूरा गर्न तत्परता देखाउँदैन’, पाण्डेले भने। थप छलफल गरेर अब के गर्ने भन्ने टुंगो लगाउने तयारी सरकारी चिकित्सकको छ।
अध्यक्ष पाण्डेले भने, ‘हामीलाई सरकारले खाए खा नखाए घिच भने जस्तो व्यवहार गर्यो, हामीले ढुंगामुडा गरेर आन्दोलन गर्न मिल्दैन शान्तिपूर्णरुपमा राखेका माग सरकारले सुनेन। त्यही भएर राजीनामाको निर्णयमा पुगेका हौं।’