
बिर्तामोड-मगमग झापा गोल्डकपको उद्घाटन खेलमा झापा ११ एफसी र पोखराको सहारा क्लबले जीत दर्ता गर्ने बिश्वासका साथ मैदान प्रवेश गर्ने बताएका छन्।
आयोजकका तर्फबाट शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टिम क्याप्टेन र कोचले त्यस्तो दाबी गरेका हुन्। झापा ११ का कोच प्रवेश कटुवालले पूर्ण अपेक्षाका साथ तयारी गरेको बताए।
झापाले यस सिजनमा फिदिम गोल्डकपमा जीत दर्ता गरेको छ भने अन्य दुई प्रतियोगितामा हार व्यहोरेको छ। कर्ण लिम्बूको कप्तानीमा मैदान प्रवेश गर्ने झापाका लागि विशाल राई ए र दिलेन लोक्तामलगायत पुराना खेलाडी छन् भने अन्य नयाँ खेलाडी रहेको कोच कटुवालले जानकारी दिए।
सहाराका क्याप्टेन मनबहादुर तामाङले झापासँगको भेटमा आशा व्यक्त गरे। ‘मोफसलको उत्कृष्ट टिम झापा भएकाले रेस्पेक्ट गर्छु’, उनले भने। तर, उसैको घरेलु मैदानमा हराउन सहजरुपमा नलिएको पनि उनले स्पष्ट पारे।
बुढासुब्बा गोल्डकप र पोखरामा आयोजित आहारारा गोल्डकपमा हार व्यहोरेर झापा खेल्न आएको सहारामा फ्रेस खेलाडी भएकाले जीत निकाल्ने उनको दाबी छ।
यसअघि एकपटक भेट भएको दुई टोलीबीच यो दोस्रो भेट हो। कटारी गोल्डकपमा भेट हुँदा १–० को नतिजामा झापाले जीत निकालेको थियो।
पोखरेली कोच प्रल्हाद हिराचनले झापालीसँगको भिडन्त विशेष महत्वका साथ हेरिएको बताए। ‘उसैको घरेलु मैदानमा उसैसँग भिड्न पाउँदा खुसी पनि लागेको छ’, उनले भने।
‘ओपनिङमात्र होइन, टुर्नामेन्ट नै हाम्रो लागि महत्वपूर्ण छ’, झापाली कप्तान कर्ण लिम्बूले भने। ९० मिनेटभित्रै जित्ने दाबी गरेका उनले झापाको ‘सेट टिम’ पहिलो हतियार भएको दाबी गरे । भर्खरै लिग खेलेकाले पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने उनको भनाइ थियो।
कार्यक्रममा म्याच कमिस्नार केशवराज दाहालले दुवै टिमलाई जीतको शुभकामना दिएका थिए। झापा गोल्डकपको चौथो संस्करणमा हङकङसहित १० टिम सहभागी छन्। विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार पाउनेछ।