
विर्तामोड- स्ट्राइकर कर्ण लिम्बुको निर्णायक गोलसंगै झापा ११ मग मग झापा गोल्डकपको चौथो संस्करणको सेमी फाइनलमा प्रवेश गरेको छ।
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटर फाइनल खेलमा झापाले हङकङ नेप्लिज एकेडेमीलाई १-० गोल अन्तरले पराजित गर्दै झापाले सेमी फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
खेलको ४१ औं मिनेटमा झापाका कर्ण लिम्बु हेडर गोल गरेका थिए। उनले निशान्त खड्काको पासमा गोल गरेका हुन्।
उनले गोल गर्न अघि झापाका सहज पाँच प्रहार गोलमा परिणत हुन सकेन। घरेलु दर्शकको भरपूर समर्थन पाएको झापाले अन्ततः एक गोल गर्न सक्यो। खेलको दोस्रो हाफमा कुनै गोल हुन सकेन।
सोमबारको खेलको म्यान अफ दी म्याच झापाका निशान्त खड्का घोषित भए। उनले १५ हजार नगद प्राप्त गरे। मंगलबारको दोस्रो क्वाटर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ।