
विर्तामोड-केही दिन अघि अर्जुनधारा नगरपालिका सालबारीस्थित सहिद स्मृति पार्कमा राखिएका सहिदहरु रामनाथ दहाल, विरेन राजवंशी, नारायण श्रेष्ठ, नेत्र घिमिरे तथा कृष्ण कुइँकेलको पूर्ण कदको सालिक हेरेर सर्वसाधारण भन्दै थिए, ‘व्यवस्था परिवर्तन भयो तर यी सहिदहरुले देखाएको बाटोमा नेताहरु अझै हिँड्न सकेका छैनन्।’
सर्वसाधारणको यो भनाईमा नेपाली राजनीतिका ठूला नेताहरुप्रति व्यंगको आभास हुन्थ्यो। सालबारीमा पूर्ण कदको सालिक बनाएर राखिएका सहिदहरुलाई झापा विद्रोहका बेला २०२९ साल फागुन २१ गते झापा र इलामको सीमाना सुखानीमा लगेर पञ्चायती शासकहरुले हत्या गरेका थिए।उनीहरुलाई जेल सार्ने बहानामा सुखानीमा लगेर हत्या गरिएको बताइन्छ।
झापा विद्रोहका बेला अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन कमिटिका कार्यकर्ता रहेका दहाल लगायत पाँच जनालाई झापा कारागारबाट इलाम कारागार स्थानान्तरण गर्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको नेकपा झापाका एक जना नेता चिन्तन पाठक बताउँछन्।
उनले भने, ‘त्यो बेलामा कोके भनेर चिनिन्थ्यो संगठनलाई, त्यहीबेला हाम्रा साथीहरुलाई निदर्यी पञ्चायती शासकहरुले दिउँसो २ देखि ४ बजेको विचमा सुखानीमा लगेर विभत्स हत्या गरे।’ पाठक भन्छन्, ‘हत्या गरिएको सुखानीमा एकै ठाउँ पाँचवटा रुख उम्रेर ठूला भएका छन्। हाम्रा नेता र देशको गतिविधि उनीहरुले मज्जाले हेरिरहेका छन्।’
तर जनतामा परिवर्तनको आभास दिलाउने किसिमका काम गर्न अझै बाँकी रहेको बामपन्थी कार्यकर्ताहरुको भनाइ छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुन अघि छुट्टा छुट्टै कार्यक्रम गरेर मनाइने गरेको फागुन २१ गतेको स्मृति सभा यस पटक भने संयुक्त कार्यक्रम गरेर मनाइँदैछ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल सुखानी आउने कार्यक्रम छ।
सुखानीका सहिदहरुसंग निरंकुशता विरुद्धको लडाईंमा संगै होमिएका व्यक्ति हुन् धाइजन ६ झापाका ७० बर्षिय दुर्गा अधिकारी। करीब ११ बर्ष जेल जीवन विताएका उनले २१ फागुनमा हत्या गरिएका सहिदहरुसंगको सहकार्य अहिले पनि उनको आँखामा झल्झली छ।
उनी भन्छन्, ‘उहाँहरु जस्तो कर्मठ व्यक्तिहरुको खाँचो नेपाली राजनीतिमा जहिले पनि परिरहन्छ।निरंकुशता विरुद्ध उहाँहरु एक ठाउँमा हुनुहुन्थ्यो। हामी जहिले पनि सहकार्य गर्थ्यौं।’
अधिकारी भन्छन्, ‘यी सहिदहरुले मनोमानी गर, तिमीहरुमात्र कमाउ भनेका थिएनन् ।’ सर्वसाधारण जनताले अहिले पनि व्यवहारिक परिवर्तन प्राप्त गर्न नसकेको उनको बुझाइ छ।