
बिर्तामोड-मगमग झापा गोल्डकपको पहिलो सेमीफाइनल खेलमा आयोजक टोली झापा ११ बिजयी भएको छ।
झापाले रुस्लान थ्री स्टार क्लबलाई टाइब्रेकरमा ३-१ गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो।
जितसँगै आयोजक झापाले कम्तिमा ६ लाख ५ हजार रुपैंयाँ पुरस्कार सुरक्षित गरेको छ।
झापा गोल्डकपको चौथो सिजनसम्म आइपुग्दा आयोजक झापा लगातार चौथो पटक फाइनलमा प्रवेश गरेको छ।
यद्यपी झापाले हालसम्म उपाधी रक्षा भने गर्न सकेको छैन। निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि १५ मिनेट समय थप गरिएको थियो।
थपिएको १५ मिनेटमा पनि कुनै गोल हुन नसकेपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएको थियो।टाइब्रेकरमा थ्री स्टारका रजिन धिमालले मात्र गोल गर्न सकेका थिए। बुद्ध लिम्बुको प्रहार रोकियो भने रुपेश केसी र मिक्चेन तामाङको प्रहार बाहिरियो।
झापाका हेमन गुरुङ र कर्ण लिम्बुको प्रहार थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले रोकेका थिए भने पुजन उपरकोटी, देबेन्द्र तामाङ, र गोलरक्षक दिनेश थापामगरले गोल गरका थिए।
खेलको २० औं मिनेटमा झापाका लागि बिदेशी खेलाडी फ्रान्सिस ओएमीले गरेको कडा प्रहार पोष्ट नजिकैबाट बाहिरियो। ८२ औं मिनेटमा काजिम बुखासरीको हेडर बार छुँदै बाहिरिँदा झापाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो।
थ्री स्टारका सुशील राईले मिलाएको पासलाई अजयी मार्टिनले डि बक्सबाट गरेको हेडर बाहिरियो। गोलरक्षक दिनेश थापामगर बीट भइसकेको अवस्थामा ३० औं मिनेटमा सुशील राइको हेडर झापाका मिड दिलेन लोक्तामले जोगाए। ७३ औं मिनेटमा अजय मार्टिनको कडा प्रहार बारमा लागेर फर्कियो।
खेलको म्यान अफ द म्याच मगमग झापा ११ का गोलरक्षक दिनेश थापामगर घोषित भए। उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए। शनिबारको अन्तिम सेमीफाईनल खेल त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाउफिन्स क्लबबीच हुने आयोजकले जनाएको छ।