
विर्तामोड–गएको माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुरमा बनेको मेची पुल उद्घाटन गरे पनि अहिलेसम्म उक्त पुलमा सवारी सञ्चालन हुन सकेको छैन।
नेपाल भारत जोड्ने उक्त पुलमा सवारी साधन सञ्चालन नहुँदा नेपाल तथा भारत दुवैतर्फ समस्या उत्पन्न भएको छ।
भारतीय पक्षले पुल जोड्ने करिब ४०० मिटर सडक नबनाउँदा समस्या उत्पन्न भएको छ भने नेपालतर्फ बन्ने सडकमा मुआब्जा विवाद छ।
भद्रपुर ५ स्थित मेची पुलमाथि अहिले हलुका सवारी साधन र पैदलयात्री फाट्ट फुट्ट आवत–जावत गरिरहेका छन्। पुललाई पूर्णरूपमा सञ्चालनका लागि पुलबाट १५० मिटर पूर्वतर्फ विहार र बंगालको सीमा हुँदै भारतीय पक्षले बाटो बनाउनुपर्ने हुन्छ भने भद्रपुरको झापा चोकदेखि मेची पुलसम्म १३०० मिटर लामो बाटो हुलाकी सडकसँग जोड्नुपर्ने हुन्छ।
पुल जोड्ने उक्त क्षेत्रको बाटोमा आफ्नो निजी सम्पत्ति परेको भन्दै स्थानीयबासीले मुआब्जा माग गरेकाले नेपालतर्फ सडक विस्तारमा समस्या भएको छ।
झापा चोकदेखि मेचीपुलसम्म १३ सय मिटर दूरीमध्ये २ सय १० मिटर क्षेत्रका बासिन्दाले मुआब्जा पाएका छन्।
तर, १ हजार ९० मिटरसम्मका स्थानीयबासीलाई मुआब्जा नदिएर विभेद गरेको संघर्ष समितिका अध्यक्ष इन्द्रकान्त झाले बताए। ३२ घरसहित ५२ परिवारको निजी सम्पत्ति उक्त क्षेत्रमा पर्ने बताइन्छ।
३५ करोड ९५ लाख रुपैयाँको लागतमा ९ वर्षमा उक्त पुल बनेको हो।
मेची पुल जोड्ने बाटो निकाससहित देखिएका समस्या समाधानका लागि सरकारलाई दबाबसहित ध्यानाकर्षण गराउन झापाली प्रतिनिधि मण्डल अहिले काठमाडौँ गएको छ।
नेपाल–भारत जोड्ने मेची पुलको बाटो विस्तारमा देखिएको मुआब्जा विवादलाई निकास दिन भद्रपुरमा गठित प्रतिनिधि मण्डलले काठमाडौँ पुगेर प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरूलाई प्रत्यक्ष भेटेर ध्यानाकर्षण गराउँदै लिखित ज्ञापनपत्र बुझाएको छ।
मेची पुलको लिंक रोड जोड्न भारतीय सरकारसमक्ष नेपाल सरकारको तर्फबाट पहल गर्नुपर्ने तथा नेपाल तर्फ सडक निर्माण गर्नका लागि उचित मुआब्जा वितरणका लागि ज्ञापनपत्रमा माग गरिएको छ।