
वीरगञ्ज- डाक्टर श्रीमान् सचितानन्द यादवको कुटपिटबाट ज्यान गुमाएकी सुनिता यादवको अन्तिम संस्कार गरिएको छ। डाक्टर यादवको कुटपिटबाट गम्भीर घाइते भएकी सुनिताको उपचारको क्रममा ज्यान गएपछि शनिबार उनको शव काठमाडौंबाट घरमा ल्याइएको थियो।
बाराको परवानीपुर गाउँपालिका ५ बहुअरी टोलकी सुनिताको आइतबार हिन्दू परम्परा अनुसार दुधौरा खोलामा दाहसंस्कार गरिएको हो। दाइजोका कारण आफना डाक्टर श्रीमानबाट चरम यातनाको शिकार भएकी सुनिताका उपचारको क्रममा ज्यान गएपछि दोषी डाक्टरमाथि कारवाही हुनुपर्ने चौतर्फी रुपमा माग गरेका छन्।
२०५९ सालमा सुनितासँग मागी विवाह गरेका डाक्टर यादवले भारतमा अर्को बिहे पनि गरेका छन्। अर्को बिहे गरेदेखि नै आफ्नी जेठी श्रीमती सुनितालाई डाक्टर यादवले दाइजो स्वरुप घर र गाडी दिन भन्दै चरम शारीरिक यातना दिदै कुटपिट गर्दै आएका थिए।
सोहीक्रममा आफना डाक्टर श्रीमान र उनका आफन्तको कुटपिटबाट सुनिता गत हप्ता गम्भीर घाइते भएकी थिइन्। उनलाई वीरगन्जमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएकोमा गएको शुक्रबार उपचारको क्रममा सुनिताको ज्यान गएको थियो।
सुनिताको श्रीमान् डाक्टर यादव भने कर्तव्य ज्यान मुद्दाको आरोपमा पर्सा प्रहरीको हिरासतमा रहेका छन् भने कुटपिटमा संलग्न परिवारका अन्य सदस्यहरु फरार छन्।