
दमक– प्रधानमन्त्री केपी शर्मा ओलीले व्यासमा बसेका पण्डितले जस्तै गरि गायत्री मन्त्रको महिमा सुनाएका छन्।
आइतबार झापाको दमकमा आयोजित प्रदेश – १ स्तरीय साहित्यिक तथा प्राज्ञिक गोष्ठीको उद्घाटन गर्दै उनले गायत्री मन्त्रजस्तो पवित्र मन्त्रको उत्पति नेपालमै भएको बताए।
लगानी सम्मेलनको दौडधुपपछि गृह जिल्ला झापाको गृह नगर आइपुगेका प्रधानमन्त्री ओलीले गायत्री मन्त्रीको उत्पति कोशी नदी किनारमा भएको दाबी गरे।
उनले भने, ‘गायत्री मन्त्र जस्तो पवित्र मन्त्र उत्पति गर्ने प्रदेशमा हामी छौं। यो ज्ञानभूमि हो। नेपाल देवभूमि हो।’
उनले वेदको रचना पनि नेपालमै भएको दाबी गरे। गायत्री मन्त्र उच्चारण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल ज्ञानको मुहान हो।’
प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानको प्रदेश कार्यालय दमकमै स्थापना गर्न आग्रह गर्दै प्रज्ञा भवनका लागि जग्गाको व्यवस्था मिलाउन नगरपालिकालाई आग्रह गरे।
उनले भने, ‘तपाईंहरु जमिनको व्यवस्था मिलाउनुहोस् जति लाग्छ भवन बनाउन म बनाउँछु।’
उनले अहिले नै भाडाको घरमा एकेडेमी भवन स्थापना गरे त्यस्को भाडा आफूले तिरिदिने बताए। प्रधानमन्त्री ओलीले भने, ‘तपाईं अहिले नै भाडाको घर खोज्नुहोस् म पैसा तिरिदिन्छु।’
देशमा परिवर्तन ल्याउन अब ढिलो गर्न नहुने उनको भनाइ थियो। उनले भने, ‘समृद्धिका लागि हर व्यक्तिले आफ्नो क्षेत्रबाट योगदान दिन जरुरी छ।’