
वीरगञ्ज– सार्वजनिक गुठीको जग्गा किर्ते गरेर व्यक्तिको नाममा गराउने वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी सहित १३ जना फरार भएका छन्।
जग्गा किर्ते गरेको सम्बन्धमा १५ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेपछि वडाध्यक्ष सहित १३ जना फरार भएका हुन्। बाँकी दुईजनालाई भने प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१४ का वडा सचिव झुना महरा र वडा सदस्य रफिक अन्सारी रहेका छन्। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।
फरार वडाध्यक्ष कुर्मीले हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को कित्ता नं. १५० को एक विगाह सात धुर र वडा नम्बर ९ को कित्ता नम्बर २५० को चार कट्ठा पाँच धुर जग्गा गंगाप्रसाद सेढाईको नाममा पास गराएको आरोप छ। यस्तै वीरगञ्ज महानगरपालिका मजडिहा पिपरा वडा नम्बर ५ को कित्ता नम्बर ५२ को एक विगाह एक कठ्ठा जग्गा सुशिला भट्टराई र राकेश साहको नाममा गरिएको छ।
हाल फरार रहेका १३ जना मध्ये एकजना मालपोत कार्यालय पर्साका कर्मचारी पनि रहेका बुझिएको छ। फरार उनीहरुको खोजी कार्य भइरहेको पर्साका नायव प्रहरी उपरिक्षक अनन्तराज शर्माले जनाकारी दिए।