
सुर्खेत– सुर्खेतका दृष्टिविहीन विद्यार्थीहरू छात्रवृत्ति पाउनबाट बञ्चित भएको पाइएको छ। अध्ययनका लागि सरकारबाट पाउनुपर्ने छात्रवृत्ति रकम यहाँका विद्यार्थीहरूले विगत एक वर्षदेखि पाउन सकेका छैनन्।
जिल्लाका तीनवटा सामुदायिक विद्यालयमा दृष्टिविहीन भएका विद्यार्थीहरू पढ्दै आएका छन्। सिम्ताको बागेश्वरी माध्यमिक विद्यालय राकम, भेरीगंगा नगरपालिकाको शिखर माध्यमिक विद्यालय रामघाट र वीरेन्द्रनगरको श्री कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा दृष्टिविहीन विद्यार्थीहरू पढ्दै आएका छन्।
राकमको बागेश्वरी माध्यमिक विद्यालयले भने अन्य अपांगता भएका विद्यार्थीहरूलाई पनि आवासीय सुविधासहित अध्यापन गराउँदै आएको छ। तर आवाससहितको सुविधामा लिएर अध्ययन गर्दै आएका विद्यार्थीहरू यतिबेला समस्यामा परेका छन्। सरकारले दिने छात्रवृत्ति नपाउँदै विद्यालयले सञ्चालन गरेका होस्टेलहरू बन्द हुने अवस्थामा पुगेका छन्।
‘प्रति विद्यार्थी मासिक चार हजार रूपैयाँका दरले विगतमा सरकारले छात्रवृत्ति उपलव्ध गराउँदै आएको थियो, जिल्लाका संरचना स्थानीय तहमा आएसँगै विगत एक वर्षयता पाइएको छैन’ बागेश्वरी माध्यमिक विद्यालयका शिक्षक योगेन्द्रबहादुर शाहीले भने,‘छात्रवृत्ति रकम नआउँदा विद्यार्थीलाई उधारो किनेर खुवाइएको छ। एक पटक उधारो ल्यायो, पैसा तिरेकै हुँदैन, अर्काे पटक ल्याउनु पर्छ। निकै समस्या भएको छ।’
बागेश्वरी माध्यमिक विद्यालयमा हाल दृष्टिविहीन र अन्य अपांगता भएका गरि २० जना विद्यार्थी अध्ययनरत छन्। उनीहरू विद्यालयले सञ्चालन गर्दै आएको होस्टेल बसेरै अध्ययन गर्छन्। तर सरकारले उपलब्ध गराउने छात्रवृत्ति प्राप्त नहुँदा यतिबेला यहाँका दृष्टिविहीन विद्यार्थीहरू चिन्तित बनेका छन्। सरकारबाट मासिक रूपमा पाउने छात्रवृति उनीहरूले पाउन सकेका छैनन्। गत शैक्षिकसत्रबाट सरकारले दिने आवासीय छात्रवृत्ति नपाउँदा उच्च शिक्षा अध्ययन गर्ने सपना अधुरै हुने हो की भन्ने चिन्तामा छन्, विद्यार्थी। विद्यार्थीले पाउने छात्रवृत्तिबाटै आवासीय व्यवस्थापन हुँदै आएको थियो। तर अहिले आवाससहित, खाना, खाजा, आवश्यक स्टेश्नरी लगायत अन्य सामग्री व्यवस्थापन गर्न निकै समस्या उत्पन्न भएको छ। दैनिक रेखदेखदेखि खानपान र पठनपाठनमा समस्या भएको छ।
दृष्टिविहीन विद्यार्थीहरूको पढाईमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउँछन् श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामका शिक्षक सुरेश खड्का। उनले सरकारले उपलब्ध गराउँदै आएको छात्रवृत्ति समेत रोकिँदा उनीहरूको पढाईमा समस्या निम्तिएको बताए। ‘सरकारले विगतमा चार हजारका दरले वर्षमा १० महिनाको एकमुष्ट ४० हजार दिँदै आएको थियो’ शिक्षक खड्काले भने, ‘अब होस्टेल अगाडी बढाउनै समस्या भएको छ। राज्यले यसबारे समयमा सोचिदिनु पर्यो।’
यता स्थानीय सरकार भने छात्रवृत्ति संघीय सरकारले दिनुपर्ने भन्दै पन्छिदै आएका छन्। सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले संघले बजेट नदिएकाले ढिला भएको बताए। अपांगता भएका तथा दृष्टिविहीनका क्षेत्रमा गाउँपालिकाले काम गरेको भन्दै उनीहरूको पढ्न पाउने अधिकार सुनिश्चित गर्न गाउँपालिका तयार भएको उनको भनाइ छ। ‘सिम्ता गाउँपालिकाले दृष्टिविहीन र अपांगता भएका व्यक्तिलाई पढ्न पाउने अधिकार सुनिश्चित गरेको छ’, उनले भने,‘छात्रवृत्तिका हकमा संघले दिएको सर्शत अनुदानमा आउनुपर्ने हो। विवरण ढिलो गएको छ। संघले बजेट नदिएकाले समस्या भएको हो।’ छात्रवृत्तिका लागि संघ सरकारसँग समन्वय भएको भन्दै उनले बजेट नआए स्थानीय सरकारले बजेट विनियोजन गर्ने बताए।
यस्तै भेरीगंगा नगरपालिकाले पनि छात्रवृत्ति उपलव्ध गराउने अधिकार संघीय सरकारको भएकाले स्थानीय सरकार आवश्यक समन्वयको प्रक्रियामा रहेको जनाएको छ। नगरपालिकाका उपप्रमुख रेणु आचार्य चन्दले चाँडै नै दृष्टिविहीनहरूले पाउनुपर्ने छात्रवृत्ति उपलब्ध गराउन पहल गर्ने बताइन्। वीरेन्द्रनगर नगरपालिकाले पनि केन्द्रमा विवरण पठाएको तर, छात्रवृत्तिका लागि बजेट नआएको जानकारी दिएको छ। श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राममा १५ र शिखर मावि रामघाटमा ११ जना दृष्टिविहिन विद्यार्थी भर्ना भएका छन्।
श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामको दृष्टिविहीन छात्रछात्रा बस्दै आएको छात्राबास भवन ।