
बनियानी– राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले आदिवासी समुदायका संस्कृति जगेर्नाका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताएका छन्।
झापा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका लिङदेनले आफ्नो क्षेत्रमा आदिवासी र मुसलमान समुदायका मानिसहरुको बाहुल्यता रहेका कारण आफ्नो क्षेत्रका आदिवासी समुदायको विकासका निम्ति सक्दो काम गर्ने बताए।
सोमबार झापाको कचनकवल गाउँपालिका ६ मा सिरुवा पर्वको दोस्रो दिन कादो अर्थात हिलो खेल्दै उनले भने, ‘म आधा राजवंशी आधा मियाँ हुँ। किनभने म उहाँहरुको मतबाट प्रतिनिधि सभामा पुगेको हुँ।’
महामन्त्री लिङदेनले आफ्ना संस्कृतिको जगेर्ना भए मात्र अर्काले हस्तक्षेप गर्न नसक्ने बताए। उनले भने, ‘यो सांस्कृतिक विविधतालाई संरक्षण गरे मात्र हामीलाई अर्काले हस्तक्षेप गर्दैन।’
कोच युवाहरुको सिरुवा पर्वमा सहभागिता प्रशंसनीय भन्दै लिङदेनले युवा वर्गलाई संस्कृतिका बारेमा पढाउनुपर्ने बताए।
राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समूदायले वैशाख १, २ र ३ गते पानी, हिलो र रंग छ्यापछ्याप गरेर सिरुवा मनाउने गर्छन्।
झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने आदिवासी बहुल क्षेत्रहरु सिरुवामय बन्ने गरेका छन्। पर्वका अवसरमा ठाकुरबिसरी, ठाकुरब्रह्माणी,घाटोसरीसहित कूल देवीदेवताको पूजा गर्ने प्रचलन छ।