
काठमाडौं -प्रदेश नम्बर तीनको प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २७ गते हुने भएको छ।
बिहीबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुखको निर्वाचन मिति तय गरेको हो।
बैठकले आगामी बैठकहरुको कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन समेत दिएको छ ।
वाम गठबन्धनभित्र प्रदेश तीनको मुख्य मन्त्री र सभामुख दुवै पद एमालेले पाउने निर्णय गरेता पनि प्रतिपक्षी नेपाली कांग्रेस र अन्य दलहरुले चाहेमा आफ्ना उम्मेदवारहरु खडा गर्न सक्ने छन्।
संघीयता कार्यान्वयनमा ऐतिहासिक मानिएको उक्त बैठकले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ लाई सर्वसम्मतरुपमा पारित गरेको छ।
बैठकमा विभिन्न राजनीतिक दलका सदस्यहरुले राजनीति स्थायित्व, सुशासन र विकासका लागि एक हुनुको विकल्प नभएको बताएका छन्।
एक सय १० सांसद (सबैभन्दा धेरै) रहेको प्रदेशसभाको बैठकको अस्थायी सभामुख एवं ज्येष्ठ सदस्य डोरमणि पौडेलले अध्यक्षता गरेका थिए।
प्रदेश प्रमुख अनुराधा कोइरालाले पहिलो अधिवेशन आह्वानको पत्र पढेपछि सदस्यहरुले बोल्न सुरु गरेको थिए।
बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र नेपाली काँग्रेस विवेकशील साझा पार्टी, नेपाल मजदुुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र स्वतन्त्र (नयाँ शक्ति नेपाल) का सदस्यहरुले मन्तव्य राखेका छन्।
बैठकले अस्थायी सभामुखको अनुपस्थितमा सभा सञ्चालनकालागि रामेश्वर फुयाँल, धनश्याम दाहाल, गीता शाक्य र शोभा वाग्लेलाई अध्यक्ष मण्डलमा चयन गरिएको छ ।