
कास्की-संघीय संरचना अन्तर्गत प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् कार्यालय विहिबारदेखि सञ्चालनमा आएको छ । विहीबार प्रदेशका प्रमुख सचीव सहित ३ सचीवले कार्यभार सम्हालेका छन्।
साविकका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले प्रदेश नम्बर ४ मा प्रमुख सचीवको कार्यभार सम्हाले भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचीवको रुपमा लालमणी ओझाले कार्यभार सम्हालेका छन् । त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचीवको रुपमा फणिन्द्रमणी पोख्रेलले आफ्नो जिम्मेवारी लिएका छन्।
कार्यभार सम्हालेपछि प्रमुख सचीव लक्ष्मण अर्यालले अहिले प्रशासनीक रुपमा प्रदेशका संरचना प्रमुख प्राथमिकतमा रहेको बताए। ‘संसदीय दलको बैठक पछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुहुन्छ । मुख्य मन्त्रि नियुत्त गरे सँगै प्रान्तिय सरकारको कामले निरन्तरता पाउनेछ ।’
उनले भने ‘प्रादेशिक मन्त्रालयमा सचिवहरुले जिम्मेवारी बहन गर्दै गर्नुहुन्छ त्यसपछि राजनीतिक नेतृत्व आएपछि प्रदेशको संरचनाको नेतृत्व लिनु हुन्छ । त्यसपछि उहाँहरुको सोच र दृष्टिकोणबाट अघि बढ्छौ।’ अहिले सेवा प्रवाहका केहि काम नहुने अर्यालले बताए ‘हामी मन्त्रि बहालीकालागि संरचनाको ब्यवस्थापन र स्वागतमा जुट्छौ । यससँगै प्रदेश सभालाई कानुन बनाएर विजनेस दिने काम विस्तारै सुरु हुन्छ।’
उनले क्षेत्रीय प्रशासन कार्यालय स्थानीय प्रशासन ऐन २०२८ अन्तर्गत स्थापित संस्था भएकाले साविकको क्षेत्रीय प्रशासकको अतिरिक्त जिम्मेवारीलाई पनि आफुले निरन्तरता दिने बताए।
सरकारले प्रदेश तहमा ७ वटा मन्त्रालय राख्ने तयारी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँगै आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमी, कृषि तथा सहकारी मन्त्रालय प्रादेशिक तहमा कायम हुनेछन्।