
सुर्खेत– कर्णाली प्रिमियर लिग (केपीएल) को खेलतालिका सार्वजनिक भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने केपीएलको दोस्रो संस्करणको खेल तालिका शनिवार सार्वजनिक गरिएको हो।
आयोजक कर्णाली क्रिकेट एकेडेमीले सार्वजनिक गरेको तालिका अनुसार वैशाख १२ गते हुने उद्घाटन खेलमा कर्णाली–११ र लालिगुराँस क्रिकेट एकेडेमीबिच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको पहिलो दिन र अन्तिम दिन एक–एक खेल मात्रै हुनेछ भने बाँकी दिन दुई–दुई खेल सञ्चालन हुनेछन्।
प्रतियोगितामा तीन विभागीयसहित आठ टीम सहभागी हुँदैछन्। विजेताले पाँच लाख र उपविजेताले दुई लाख रूपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन्। म्यान अफ द सिरिजलाई ५० हजार रूपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई २०–२० हजार रूपैयाँ नगद प्रदान गरिनेछ। यस्तै प्रत्येक खेलमा ’म्यान अफ द म्याच’ हुने खेलाडीले तीन हजार पाँच सय रूपैयाँ पुरस्कार पाउनेछन्।
वसन्त रेग्मीको कप्तानीमा सशस्त्र प्रहरीको एपीएफ क्लब, विनोद भण्डारीको कप्तानीमा त्रिभुवन आर्मी क्लब र मञ्जीत श्रेष्ठको कप्तानीमा नेपाल पुलिसको टीम प्रतियोगितामा सहभागी हुनेछन्। यस्तै, कर्णाली क्रिक्रेट एकेडेमीमा रविन्द्रजंग शाही, महेन्द्रनगर क्रिकेट एकेडेमी (कञ्चनपुर) बाट सुशील खड्काले टीमको नेतृत्व गर्नेछन्। मेहबुब आलमले लालिगुराँस क्रिकेट एकेडेमी (झापा) र अजय साहनीले मध्यपश्चिम क्रिकेट (बाँके) र सुरेन्द्र चन्दले हिमालयन क्रिकेट एकेडमी (काठमाडौं) को टीमको नेतृत्व गर्नेछन्। प्रतियोगिता अवधिभर १५ वटा खेल हुने आयोजकले जनाएको छ।
लिग सञ्चालन हुने मिति नजिकिँदै जाँदा आयोजकले तयारी पनि तिव्र पारेको छ। वीरेन्द्रनगरको कालुंगचौक मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको छ। मैदान मिलाउने, पिच र बाउन्ड्रीको लेभल मिलाउने लगायतको काम भइरहेको केपीएल दोस्रो संस्करणका संयोजक रेशम शाहीले जानकारी दिए।