
सुर्खेत– हुम्लाको ताँजाकोट गाउँपालिका–१ का लालसरा रिठालाई ज्वरो आउने, टाउँको दुख्ने, हातखुट्टा झमझमाउने समस्या देखियो। स्वास्थ्य समस्या देखिएपनि उनी अस्पताल पुगिनन् । ७० वर्षिय उनको केही दिनमा गत चैत २६ गते घरमै मृत्यु भयो। वैशाख १ गते ताँजाकोट–३ चौतारी बाडाका ५५ वर्षिय लक्ष्य सुनार र ताँजाकोट–१ काडागाउँका सुरजित खड्काको मृत्यु भयो।
लालसरा जस्तै समस्याले थला परेका ताँजाकोट–३ का बजेरी सुनारको वैशाख ३ गते मृत्यु भयो । उनी ७५ वर्षिय थिए। वैशाख ४ गते ताँजाकोट–३ कै अमकलि मल्लको पनि ६७ वर्षको उमेरमा मृत्यु भयो।
थला परेको पाँचौ दिनमा उनको मृत्यु भएको थियो। वैशाख ४ गतेदेखि सामान्य समस्या देखिएका ताँजाकोट–२ कोलीवाडाका रंगे वलीको पनि वैशाख ८ गते मृत्यु भयो। सोही ठाउँका १० महिनाका सञ्जिव थापाले पनि सोही समस्याका कारण ज्यान गुमाए।
शनिबार (बैशाख–१४ गते) ताँजाकोट–१ का बीरवल रिठालको ५५ वर्षको उमेरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। चैत्र २६ गते यता ताँजाकोट गाउँपालिकामा ९ जनाको मृत्यु भएको छ। उनीहरुमा ज्वरो आउने, टाउँको दुख्ने, हातखुट्टा झमझमाउने समस्या देखिने गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख राजेन्द्र स्यांखुले जानकारी दिए।
उनका अनुसार रोगको पहिचान हुन नसक्दा गाउँमा थुप्रै व्यक्तिहरु विरामी परेको छन् । ‘सामान्य समस्या हुँदा नै गाउँपालिकाबाट डाक्टरसहित घरदैलो अभियान र शिविरसमेत गरिएको थियो’ उनले भने,‘पाँच वटा वडा रहेको गाउँपालिकामा वडा नम्बर १, २ र ३ वढि प्रभावित देखिएका छन् ।’
उनले लक्षण अनुसार सिजिनल फ्लू भएको अनुमान गरिएको बताए । गाउँपालिकामा बृद्धबृद्धा र बालबालिका वढि संक्रमित देखिएका छन्। ‘गाउँपालिकाको अस्पतालमा सबै रोगको जाँचका लागि आवश्यक उपकरण छैनन्, एक्सरे, रगत, पीसाव जाँचका गर्न सक्ने अवस्था छैन्’ उनले भने,‘लक्षणकै आधारमा उपचार गर्ने हो। हामीले विगतदेखि नै रोगको नियन्त्रणका लागि प्रयास गरेका छौं।’
मृत्यु हुने अधिकांश बृद्धबृद्धाहरु दीर्घरोगी र बालबालिकाहरु कुपोषणका कारण देखिएको उनले बताए । उनका अनुसार संक्रमणबाट विरामी परेका ९ जनाको मृत्यु घरमै भएको हो।
ताजाकोट गाउँपालिका हुम्ला जिल्ला सदरमुकामदेखि झण्डै ४६ कोष टाढा पर्छ । सडक सञ्जालले नजोडिएको उक्त गाउँपालिका सदरमुकामदेखि चार दिन पैदल हिडेर पुगिन्छ। बाजुरा र हुम्लाको सिमानामा रहेको उक्त गाउँपालिकाबासी बाजुरको विमानस्थल कोल्टीबाट ओहोर–दोहोर गर्छन् । कोल्टी विमानस्थलबाट बाजुराको धुलाचौरसम्म गाडी सञ्चालनमा छ । धुलाचौरदेखि करिव ५ घण्टा पैदल हिडेपछि गाउँपालिकाको केन्द्र छप्रेला पुगिन्छ ।
भौगोलिक रुपमा निकै विकट भएकाले पनि अज्ञात रोगले संक्रमित सबैले उपचार पाउन सकेका छैनन् । गाउँपालिकाले औषधीसहित घरदैलोमा डाक्टर पठाउँदा पनि नियन्त्रणमा नभएपछि गाउँपालिका अध्यक्ष बाग्देल मल्लले औषधी र डाक्टर पठाइदिन प्रदेश र संघ सरकार गुहार मागेका छन् ।
‘हालसम्म ९ जनाको मृत्यु भएको छ, रोग के हो स्थानीय स्वास्थ्य संस्थामा कार्यरत डाक्टरहरुले टुङ्गो लगाउन सकेको अवस्था छैन्’ उनले भने,‘प्रदेशको सामाजिक विकास मन्त्रालयमा डाक्टरको टोली र औषधि पठाइदिन निवेदन दिएको छु । संघमा गृह सचिवसँग हेलिको लागि कुरा भएको छ।’
गाउँमा अज्ञात रोगकै कारण मृत्यु हुनेको संख्या बढिरहेका बेला डाक्टर खोज्दै काठमाडौं पुगेको उनले जानकारी दिए।
‘गाउँमा थुप्रै विरामी परेका छन्, दक्ष जनशक्तिदेखि गाउँपालिकाको फार्मेसीमा रहेको औषधिसमेत घरदैलो अभियानमा सकिएको छ’ उनले थपे,‘गृहमन्त्रालयबाट हेलि व्यवस्थापन भए सुर्खेतबाट डाक्टर र औषधि लिएर जाने योजना बनाएको छु।’