
सुर्खेत – प्रदेश नं. ६ मा प्रदेशसभा सदस्यको पहिलो बैठक आइतबार बस्दैछ । प्रदेशसभाका जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा दिउँसो १ बजे बैठक बस्ने भएको हो ।
सिंचाई विकास डिभिजनको सभाहलमा बस्ने बैठकमा तीन विषयमाथि छलफल गर्न कार्यसूचि तयार गरिएको छ । प्रदेशसभाको पहिलो बैठकमले सभामुख चयनका लागि मिति तय गर्नेछ । सचिवालयले सभामुख चयनका लागि माघ २९ गतेको मिति प्रस्ताव गरेको छ ।
यस्तै बैठक संचालनका लागि आवश्यक कार्यविधीबारे पनि पहिलो बैठकमा छलफल हुने सचिवालयले जानकारी दिएको छ । प्रदेश संसदको पहिलो बैठकमा चारजना सदस्यले मात्र बोल्ने सर्वदलीय सहमति भएको र सोही अनुसारको सूचि तयार पारिएको छ ।
बैठकमा ३० जना पुरुष र १० जना महिला गरी जम्मा ४० जना मर्यादापालक खटिने छन् । तर पहिलो बैठकमा भने २० जना मात्र खटिने सचिवालयले जनाएको छ ।
पहिलो बैठकमा सहभागी हुन प्रदेशसभाका सबै सदस्य वीरेन्द्रनगर आइपुगेका छन् । संघीयता कार्यान्वयनको महत्वपूर्ण अवसर आएको भन्दै प्रदेश सांसद उत्साहित बनेका छन् । प्रदेशसभामा ४० जना सांसद छन् । पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीले गर्नेछन् ।
माघ २९ गते सभामुख चयन हुने भएपछि एमालेभित्र बहस सुरु भएको छ । माओवादीसँगको गठबन्धनमा सभामुख पाएको एमालेले आन्तरिक तयारी थालेको हो ।
फागुन तीन गतेसम्म मुख्यमन्त्री चयनको तयारी भइरहेको यो प्रदेशमा भने एमालेसँगको भागवण्डामा माओवादीले मुख्यमन्त्री पाएको छ । गठबन्धनका कारण प्रदेशसभामा दुई तिहाई बहुमतमा रहेका एमाले र माआवोदी सभामुख र मुख्यमन्त्री चयनका लागि आन्तरिक तयारीमा जुटेका छन् ।
प्रदेश सभाका लागि शैक्षिक तालिम केन्द्रको भवन प्रस्ताव गरिएको छ । तर उक्त भवनमा मर्मत तथा सजावटका लागि समय लाग्ने भएकाले तत्कालका लागि सिँचाइको हलमा बैठक बसाल्न लागिएको हो ।