
काठमाडौं- त्रिभुवन विमानस्थलबाट७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित ६ जना पक्राउ परेका छन्।
कतार एयरलाइन्सको विमान चढेर दोहाबाट काठमाडौँ आएका तीन जना पाकिस्तानी र तीन जना नेपालीलाई नक्कली नोटसहित पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए।
उनका अनुसार पक्राउ पर्नेमा कतारबाट आएका नासिर उद्धिन, नादिया अनवर, मोहमद अख्तर रहेका छन् भने आएको नोट लिन विमानस्थल पुग्ने नेपाली नागरिक युनुस अन्सारी र उनका साला सुयल खान र चालक रहेका छन्।
अन्सारी जाली नोटकै कारोबारमा पटक-पटक पक्राउ परिसकेका छन्। केन्द्रीय कारागारभित्रै रहँदा अन्सारीमाथि गोली प्रहार भएको थियो।
नेपालमा भारतीय २ हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको छ।