
सुर्खेत– राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको परिणाम सार्वजनिक हुने क्रम जारी छ।
यो समाचार तयार पार्दासम्म प्रदेश नम्बर ६ मा दलित, अपांग र महिला उम्मेदवारहरुको परिणाम सार्वजनिक भएको छ। यस प्रदेशहरुमा आठ पदका लागि १२ जनाको उम्मेदवारी परेको थियो। दलित सदस्यमा एमालेका नरपति लोवार र अपांग सदस्यमा माओवादी केन्द्रका जीवन बुढा विजयी भएका छन्।
साथै महिला सदस्यहरुमा मुगुकी कविता बोगटी, हुम्लाकी युटोल तामाङ्ग र सुर्खेतकी नन्दा चपाई विजयी भएकी छन्
। एकल संक्रमणीयमा महिला कोटातर्फ ११६२ मतभार प्राप्त गरेर वाम गठबन्धनका कविता बोगटी, नन्दा चपाईँ शर्मा र युटोल लामा विजयी भएका हुन्। नेपाली कांग्रेसका सूर्यदेवी मल्लले निर्धारित मतभार पुर्याउन नसक्दा पराजित हुनुपर्यो।
खुलातर्फको मतगणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए।
दलित र अपांगतर्फ पनि वाम गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन्। महिला, दलित र अल्पसंख्यकमा विजयी उम्मेदवारहरु वाम गठबन्धनका हुन्। बुधबार मतदान भएको ६ नम्वर प्रदेशको पूर्ण परिणाम आउन बाँकी छ।
अधिकृत पौडेलका अनुसार आज राती १२ बजेसम्म सम्पुर्ण नतिजा सार्वजनिक हुनेछ। ७९ वटा स्थानीय तह रहेको यो प्रदेशमा स्थानीय तहको २ हजार ८ सय ४४ र प्रदेशसभाको १ हजार ९ सय २० गरी जम्मा ४ हजार ७ सय ६४ मतभार छ। हाल मतगणना जारी रहेको निर्वाचन अधिकारी सुनिता थापाले बताइन्।