
सुर्खेत – माओवादी केन्द्रले प्रदेश ६ को मुख्यमन्त्रीको टुंगो बिहीबार लगाउने भएको छ । मुख्यमन्त्रीका आकांक्षीले अडान नछोडेपछि लम्बिएको छनौट प्रक्रिया बिहीबार टुंगिने भएको हो । मुख्यमन्त्रीको टुंगो लगाउन प्रदेश कमिटिको बैठक बस्दैछ ।
केही दिन पहिले प्रदेश कमिटिले तीनजनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । तर, पार्टी हेडक्वाटरले प्रदेशबाटै टुंगो लगाउन भन्दै सिफारिस भएका नेताको नाम प्रदेश कमिटिमै फिर्ता गरिदिएको थियो ।
महेन्द्रबहादुर शाही, नरेश भण्डारी र सीता नेपालीको नाम मुख्यमन्त्रीका लागि सिफारिस भएका थिए । प्रदेश कमिटिको बैठकले मुख्यमन्त्री टुंगो लगाउने माओवादी नेता जनार्दन शर्माले बताए ।
अहिले शाही र भण्डारी मुख्यमन्त्री प्रमुख दाबेदार हुन् । सहमतिकै आधारमा मुख्यमन्त्रीको उम्मेदवार चयन गरिने नेता शर्माले बताए ।
नेकपा एमाले र माओवादी केन्द्रबिच भएको भागबण्डा अनुसार यस प्रदेशको मुख्यमन्त्री माओवादीले पाउनेछ । माओवादीले मुख्यमन्त्री पाउने भएपछि प्रदेशमा बहुमत नजिक पुगेको एमालले भने प्रदेश सभामुख र मन्त्रीमै चित्त बुझाउनुपर्नेछ ।