
विर्तामोड– केही दिन अघि झापाको बुद्धशान्ति २ जयपुरमा करिब ५ बजेतिर एउटा जंगली हात्ती मकैबारीमा देखियो। स्थानीयबासी भेला भए अनि हो–हल्ला गरेर भगाए। उक्त हात्ती पूर्वतिर लाग्यो।
करिब एक साता अघि अर्जुनधारा ५ कञ्चनबारीमा रहेको उखुबारीमा बच्चासहित आएका ६ वटा जंगली हात्ती दुई दिन जति बसे। स्थानीयबासी राति पनि जागै बसे हात्तीले बिगार गरिहाल्छ कि भनेर।
डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णु घिमिरेको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै टोलीले मावन वस्ती र छेउमा रहेको विद्यालयको सुरक्षा थियो।
भारततिरबाट आउने जंगली हात्तीलाई मेची नदीमा लगाइएको विद्युतीय तारवारले रोके पनि झापाका रैथाने हात्तीका कारण झापाका गाउँ तथा शहर क्षेत्रका बासिन्दा त्रसित बनेका छन्।
झापाका मेचीनगर, बुद्धशान्ति, भद्रपुर लगायत क्षेत्रमा दिनहुँ जस्तो आउने रैथाने जंगली हात्तीका कारण सर्वसाधारण त्रसित बन्न पुगेका हुन्।
केही समय अघि झापाको मेचीनगर नगरपालिकाको धुलाबारी बजार छेउमा आठ वटाको संख्यामा आएका जंगली हात्तीका कारण सर्वसाधारण त्रसित बने।
पूर्वोत्तर झापाको सीमावर्ती बाहुनडाँगीका बासिन्दा भने केही समयदेखि जंगली हात्तीको आक्रमणबाट राहत पाएका छन्।
करीब १८ किलोमिटर सोलार तारबार निर्माण भएपछि भारतपट्टिबाट आउने जंगली हात्तीको आतंक धेरै कम भएको स्थानीयबासीले बताएका छन्।
विगतका वर्षहरुमा बाली भित्र्याउन नपाएका किसानले तारवार लगाएपछि अन्नबाली भित्र्याउन पाएका छन्।
पहिला जंगल वरपरका बासिन्दा जंगली हात्तीको त्रासमा बस्ने गर्थे। तर अहिले झापाको सदरमुकाम भद्रपुर तथा आसपासका क्षेत्रमा समेत जंगली हात्तीको चहलपहल ह्वात्तै बढेको छ। त्यस क्षेत्रका बासिन्दा रातमा सुत्न पाइरहेका छैनन्।
भद्रपुरमा मात्र होइन, झापाका जंगल वरपरका मानव वस्तीहरु लगायत शहर नजिकका बाक्ला बस्तीहरुमा समेत जंगली हात्तीको आवागमन दैनिक बाक्लिन थालेको छ। जसका कारण स्थानीयबासी त्रसित भएर बस्न बाध्य छन्।
जंगली हात्ती शहर तथा गाउँ पस्ने क्रम बढेपछि डिभिजन वन कार्यालय झापाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्ने गरेको छ। विगतमा जंगल छेउका गाउँमा जंगली हात्तीको त्रास हुने गरेकोमा अचेल शहरका बासिन्दा समेत जंगली हात्तीको आक्रमणको त्रासमा बसेका छन्। हात्तीलाई नतर्साउन र उसको हिँडने बाटो नछेकिदिन वन कार्यालय झापाले सर्वसाधारणलाई भन्ने गरेको छ।
डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले भने, ‘जंगली हात्ती खानेकुराको खोजीमा जहिले पनि आउने जाने हुने भएकाले सबैले सतर्क रहन जरुरी छ।’ उनले हात्तीलाई खेदाउने नाममा नविच्क्याउन समेत सर्वसाधारणलाई आग्रह गरेका छन्।