
काठमाडौं – नेकपा एमालेले प्रदेश नम्बर ३ को संसदीय दलको नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि उपाध्यायबिच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन स्थलमा अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे । तस्बिर : दीपा दाहाल /देश सञ्चार
शुक्रबारका लागि तोकिएको चुनावमा शाक्य र उपाध्यायले उम्मेदवारी दर्ता गरेका छन् । राजेन्द्र पाण्डे भने अन्तिम समयमा आएर पछि हटेका छन् ।
उनले उम्मेदवारी नै दर्ता गराएनन् । संसदीय दलको नेता बन्दै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै आएको नेता पाण्डेले भने देश सञ्चारसँग कुरा गर्दै आफू होडबाट पछि हटेको बताएका छन् ।
उनले भने ‘चुनावमा गएपछि जित्नु पर्छ । जित्ने जस्तो नदेखिएपछि चुनावमा जानुको औचित्य छैन ।’ उनले आफूले उम्मेदवारी दर्ता नगर्ने स्पष्ट पारेका छन् ।

उम्मेदवारी दिँदै डोरमणि उपाध्याय । तस्बिर :दीपा दाहाल /देश सञ्चार
एक सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५८ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन ३० जना सांसदको समर्थन चाहिन्छ ।