
काठमाडौं – नेकपा एमालेभित्र गुटबन्दी तीव्र हुँदै जाँदा त्यसले वाम एकता र सरकार गठनमा पर्न सक्ने प्रतिकुल प्रभावबारे एमालेमा चिन्ता बढिरहेका बेला अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच आइतबार छलफल हुने भएको छ।
वाम श्रोतका अनुसार अध्यक्ष ओलीको अग्रसरतामा हुन लागेको छलफलको स्थान भने निश्चित गरिएको छैन। चितवनबाट काठमाडौं फर्किएलगत्तै दाहालले ओलीलाई भेट्ने कार्यक्रम छ।
केही दिनदेखि अवरुद्ध ओली र दाहाल भेटमा नयाँ सरकार गठनमा भागबण्डाको अनुपात, राष्ट्रपति, सभामुख लगायत महत्वपूर्ण पदको बाँडफाँड र वाम एकताबारे छलफल हुने श्रोतले बतायो।
तर आइतबारको छलफलको प्राथमिकतामा नयाँ सरकार गठन नै हुनेछ। सरकार गठनका लागि एमाले र माओवादीलाई सुविधाजनक बहुमत प्राप्त भए पनि त्यसबारे ठोष मार्गचित्र निस्कन नसकिरहेका बेला ओली-दाहाल भेटलाई चासोका साथ हेरिएको छ।
प्रतिनिसभाको निर्वाचनमा वाम गठबन्धनलाई बहुमत प्राप्त भएको दुई महिना वितिसक्दा पनि सरकार गठनबारे स्पष्ट मार्गचित्र उनीहरुले कोर्न सकेका छैनन्।
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक सुची राष्ट्रपतिलाई आगामी फागुन दुई गतेसम्म बुझाउने तयारी छ । यसबिचमा वाम गठबन्धनमा भागभण्डाको सहमति भएमा छिट्टै नै नयाँ सरकार गठन हुने संभावना छ।
जतिसक्दो चाँडो सरकार गठन गर्नु पर्ने दवावका कारण वाम एकता अझै ओझेलमा पर्ने देखिन्छ। अहिलेसम्म दाहाललाई एकीकृत पार्टी अध्यक्षको पद दिनेबारे ओलीले स्पष्ट संकेत नदेखाउँदा एकताको प्रक्रिया अघि बढ्न छैन।
आइतबारे ओली र दाहालबिच एकताबारे छलफल भएमा पार्टी एकता संयोजन समितिको बैठक आह्वानबारे टुंगो लाग्ने छ। यता एकताबारे माओवादीसँग छलफल गर्न नयाँ मोडालिटी तयार पार्नु पर्ने निश्कर्ष शनिबारको एमाले शीर्ष नेताको छलफलले निकालेको छ।
ओली निवास बालकोटमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल लगायत छलफलमा जुटेका थिए।