
दमक – झापाको दमक नगरपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्छ। उनको घर पनि दमक बजार नजिकमा छ।
दमकलाई समृद्ध बनाउने मनसायले हुनसक्छ दमकमा ठूल्ठूला योजनाहरु आएका छन्। तर अधिकांश स्थानीय जनताले ती योजना भन्दा दमकका जनताको आधारभूत आवश्यक्ता पूरा गर्न सरकार लाग्नुपर्छ।
दमकमा करिब अढाई अर्ब रुपैयाँको लागतमा भ्यु टावर, ‘संसारकै अग्लो’ बुद्धको मूर्ति र औद्योगिक पार्क मुख्य ठूला योजनामा पर्छन्।
अढाई अर्ब भन्दा बढी रुपैयाँ लगाएर भ्यु टावर बनाउनु भन्दा स्थानीय जनताका आधारभूत आवश्यक्ताका विकासका काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकका जनताले सरकारसंग आग्रह गरेका छन्।
धेरै सर्वसाधारणले पहिला जनताका आधारभूत आवश्यक्ता पूरा गर्ने संरचना निर्माण गर्न सरकारसंग माग गरेका हुन्।
दमक चोक वरपर बाहेकका सडक जीर्ण भएको, कतिपय सामुदायिक विद्यालयमा भौतिक संरचना नभएको तथा पढाउने शिक्षकको व्यवस्था नभएको अनि न्यूनतम सुविधा नभएको अस्पतालसमेत नभएको प्रधानमन्त्रीको गृहनगरमा सर्वसाधारणले भ्यु टावरको औचित्यमाथि प्रश्न चिन्ह उठाएका छन्।
आवश्यक्ता के-के हुन्?
दमकका लागि मात्र होइन, सुनसरीको इटहरी पूर्व र झापाको विर्तामोड पश्चिम क्षेत्रमा न्यूनतम सुविधा भएका अस्पताल छैनन्।
कतिपय स्थानमा खानेपानीको राम्रो व्यवस्था छैन। धेरै गाउँमा अहिले पनि विजुली पुग्न सकेको छैन।
मुख्य चोक तथा मुख्य मार्ग बाहेकका सडक स्तरोन्नति भएका छैनन् तथा धेरै सार्वजनिक विद्यालय जीर्ण छन्। भौतिक संरचना भएका विद्यालयमा पढाउने शिक्षक छैनन्।
दमकमा नगरपालिकाले सञ्चालन गरेको १५ शैयाको एउटा अस्पताल छ।
तर उक्त अस्पतालले ठूलो जनसंख्या भएको क्षेत्रका मानिसहरुलाई सेवा दिन सकिरहेको छैन।
दमक १० का नगेन्द्र न्यौपाने भन्छन्, ‘भ्यु टावरले विरामी जनता जाँच्दैन। हामीलाई सुविधा सम्पन्न सरकारी अस्पताल चाहियो।’
प्रदेश नं १ का स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार त्यस क्षेत्रमा एउटा सुविधा सम्पन्न अस्पताल अनिवार्य भएको छ।
अस्पताललाई चाहिने जनशक्तिका लागि योजना बनाएर भ्यु टावरको अढाई अर्ब रुपैयाँ अस्पताल निर्माणमा लगाउने हो भने जत्रो पनि अस्पताल बन्ने उनको भनाई छ।
दमक चोकबाट पश्चिम ताराबारीबाट उत्तर जाने नगरको रिङ रोड वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा छ।
सोही बाटो भएर उत्तर जाँदा बाटोमा सानो पसल गर्ने दमक नगरपालिका ३ दुम्सेका स्थानीयबासी ज्ञानु बुढाथोकीलाई दमकमा बन्ने भनिएको भ्यु टावर भन्दा सोही सडकको स्तरोन्नति महत्वपूर्ण हो भन्ने लागेको छ।

करिब अढाई अर्ब रुपैयाँमा बन्न लागेको भनिएको भ्युटावरको डिजाइन्।
दमक बजार भित्रका केही किलोमिटर सडक बाहेक दमक नगरपालिका क्षेत्रका अधिकांश सडकमा कालोपत्रे छैन। भ्यु टावरको बजेट सडक स्तरोन्नितमा लगाउने हो भने २ सय किलोमिटर भन्दा बढी सडक ड्रेनसहितको कालोपत्रे बन्न सक्ने इन्जिनियर राजेश घिमिरेले बताए।
जसबाट दमक क्षेत्रका मुख्य सडकहरु कालोपत्रे बन्न सक्छ।
चुलाचुली आधारभूत विद्यालय जम्मा तीन कठ्ठा जमिनमा सञ्चालन भइरहेको छ।
कक्षा ८ सम्मको पढाई भए पनि सबै कक्षा प्रावि तहका शिक्षकले सञ्चालन गरिरहेका छन्।
उक्त विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद गुरागाईंले पनि भ्यु टावर बन्नु भन्दा जनताका छोरा छोरी पढ्ने विद्यालयमा शिक्षकको व्यवस्था भइदिए हुन्थ्यो भन्ने लागेको छ।
दमक लगायत झापाका धेरै सामुदायिक विद्यालयको अवस्था कुनै न कुनै सुविधाका हिसाबले सम्पन्न छैनन्। भ्यु टावरको पैसाले कम्तीमा १० वटा विद्यालय बन्नसक्ने स्थानीयबासी बताउँछन्।
सत्ताधारी नेकपाका स्थानीय नेता बोधराज घिमिरेले भ्यु टावर दमकको विकासका लागि महत्वपूर्ण हुने बताएका छन्।
उनले भने, ‘यो हाम्रो योजना हो। दमकको विकासका लागि यो महत्वपूर्ण छ। अरु विकासका काम पनि संगै अगाडि बढाउने हो।’
नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जनताका आधारभूत आवश्यक्ताका कुरा र भ्यु टावर निर्माणसँगै लिएर जाने बताइन्।