
बिर्तामोड– झापामा गत वर्ष भन्दा यस वर्ष बलात्कार तथा जबरजस्ती करणीका घटनामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकले देखाएको छ।
यस वर्ष झापाको दमक नगरपालिका क्षेत्र भित्र सबभन्दा बढी बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दमक नगरपालिकामा मात्रै २२ जना महिला बलात्कृत भएका छन् भने सात जनालाई जबरजस्ती करणीको प्रयास भएको छ।
जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीका अनुसार दमकपछि मेचीनगरमा धेरै महिलामाथि जबरजस्ती करणीका घटना भएका छन्।
मेचीनगरमा १६ महिला यस वर्ष बलात्कृत भएका छन् भने सात जनामाथि बलात्कारको प्रयास भएको छ। कनकाई नगरपालिकामा १२ जना महिला बलात्कृत भएका छन् भने तीन जनामाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ।
बिर्तामोड नगरपालिकामा ११ जना महिला बलात्कारको शिकार भएका छन् भने दुई जनालाई बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
भद्रपुरमा ६ जना महिला बलात्कृत भएका छन् भने एकजनालाई जबरजस्ती करणीको प्रयास भएको छ।
शिवसताक्षी नगरपालिकामा नौ जना महिलालाई जबरजस्ती करणी गरिएको बताइएको छ भने दुई जनालाई करणीको प्रयास भएको प्रहरीले जनाएको छ।
गौरादह नगरपालिकामा चार जनामाथि जबरजस्ती करणी भएको छ भने दुई जनालाई करणीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कमल गाउँपालिकामा ६ जना महिला बलात्कृत भएका छन् भने दुई जनालाई बलात्कारको प्रयास भएको छ। त्यस्तै गौरीगञ्जमा तीन जना महिला बलात्कृत भएका छन्। दुई जनालाई जबरजस्ती करणीको प्रयास भएको प्रहरीले जनाएको छ।
बाह्रदशी गाउँपालिकामा सात जना महिला बलात्कारको शिकार बने भने एक महिलालाई करणीको प्रयास भएको छ। झापा गाउँपालिकामा पाँच महिला बलात्कृत भए भने एक जना महिलामाथि जबरजस्ती करणीको प्रयास भएको छ।
त्यस्तै बुद्धशान्ति गाउँपालिकामा तीन जना महिला बलात्कारको शिकार भएका छन् भने तीन जनालाई नै बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ।
हल्दिवारी गाउँपालिकामा ६ वटा बलात्कारका घटना भएको र तीनवटा जबरजस्ती करणीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय झापामा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
कचनकवल गाउँपालिकामा दुई जना महिला बलात्कारको शिकार भएका छन् भने दुई जनामाथि नै बलात्कारको प्रयास भएको बताइएको छ।
प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा झापामा बालिका तथा महिला गरि एक सय २७ जना बलात्कृत भएका छन् भने ४२ जनालाई बलात्कारको प्रयास भएको उजुरी दर्ता छ।
बढ्दो जनघनत्व र लागुऔषध प्रयोगकर्ताको संख्या बढेकाले पनि बलात्कारका घटना बढेको प्रहरीले जनाएको छ।