
सुर्खेत–प्रदेश नम्बर ६ का प्रदेश सभामुख राजबहादुर शाहीले आफ्नो कार्यभार सम्हालेका छन्। दोस्रो प्रदेशसभा बैठकबाट सर्वसम्मत निर्वाचित भएका शाहीले सोमबारदेखि आफ्नो जिम्मेवारी सम्हालेका हुन्।
प्रदेशसभाबाट निर्वाचित शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट सोमबार दिउँसो पद तथा गोपनीयताको सपथ लिएका थिए। सपथलगत्तै शाहीले प्रदेश संसद संचिवालयमा पदबहाली गरेका छन्।
शाहीले जिम्मेवारी सम्हाल्नुभन्दा पहिले प्रदेशसभाका जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा प्रदेशसभा बस्दै आएको थियो।
सभामुख राजबहादुरले जिम्मेवारी सम्हालेसँगै प्रदेश नम्बर ६ ले पहिलो सभामुख पाएको छ। पदभार ग्रहण गर्दै शाहीले कानुनको पालना गर्दै प्रदेश समृद्धि र विकासका लागि आफू कटिवद्ध भएर लाग्ने बताए।