
काँकरभिट्टा-नेपालपट्टि नेपाल-भारत जोड्ने नयाँ मेची पुलको खम्बा र सडक बन्नुपर्ने स्थानमा बसोबास गरिरहेका स्थानीयबासीलाई सरकारले मुआब्जा वितरण गरेर स्थानीयबासीले जग्गा खाली गरिदिएपछि नेपालपट्टि पुल बनाउने कामले निरन्तरता पाएको छ।
एसियाली विकास बैंकको करिब एक सय ६० करोड भारतीय रुपैयाँ आर्थिक सहयोगमा भारत सरकारले निर्माण गरिरहेको पुलको नेपालपट्टिको कामले निरन्तरता पाएको हो।
भारतपट्टि पुलका खम्बा बनिसक्दा पनि नेपालपट्टि मुआब्जाको समस्या थियो। तर त्यहाँ बसोबास गर्ने ४३ घर परिवारलाई मुआब्जा वितरण गरेपछि जग्गा खाली भएर पुल निर्माणको कामले गति लिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले जानकारी दिए।
घर–टहरा मात्र भएका ३९ घर परिवारलाई २ करोड २० लाख रुपैयाँ मुआब्जा उपलब्ध गराइएको उनले बताए। बाँकी चारघर परिवारलाई जग्गाको लालपुर्जा भएका कारण १ करोड १७ लाख रुपैयाँ मुआब्जा उपलब्ध गराइएको थियो। १६ वटा पिलर रहने दुई लेनको पुलको अन्तिम पिलर गाड्ने काम भइरहेको छ।
करिब डेढ बर्षको अवधिमा यति बिघ्न काम भारतले सम्पन्न गरिसकेको हो।