अन्तर्वार्ता

‘पाँचदेखि सात वर्षमा उपत्यकामा मेट्राे रेल’

+
-

सरकारले काठमाडौँमा मेट्रो रेल सञ्चालनका लागि विस्तृत परियोजना ‘डीपीआर’ तयार पार्न कम्पनीको छनौट प्रक्रिया अघि बढाएसँगै त्यसबारे बहस सुरु भएको छ।

धेरैले सरकारको लगानी गर्ने क्षमता, भूगोल लगायत कारणले मेट्रो रेल सञ्चालन सम्भव नभएको प्रतिक्रिया दिएका छन् भने कतिपयले उद्देश्य अनुसार चुस्त गतिमा काम भए त्यो सम्भव भएको धारणा राखेका छन्।

मेट्रो रेल सञ्चालनसँगै उपत्यकाको ट्राफिक जाम घट्ने, धूवाँधुलाे कम हुने, पेट्राेलियम पदार्थको खपत  घट्ने र यात्रा सहज हुने दावी मेट्राे रेल सञ्चालनको अवधारणा अघि सार्नेहरुले गरेका छन्।

रेल विभागका पूर्व सनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले उपत्यकामा मात्रै नभई, मुलुकका ठूला सहरहरुमा मेट्रो रेल सञ्चालन सम्भव भएको तर त्यसका लागि सरकार एकछत्र भएर लाग्नु पर्ने बताएका छन्। देशसञ्चार संवादमा उनले चुस्त गतिमा काम भए अबको पाँच या सात वर्षभित्र मेट्रो रेल सञ्चालन हुने धारणा राखेका छन्।

काठमाडौँमा मेट्रो रेल सञ्चालनको योजना कहिले बनेको हो?

अहिले सञ्चालन गर्ने भनिएको मेट्रो रेलको अवधारणा नयाँ विषय होइन। पुरानै योजनाको निरन्तरता हो। योबीचमा विभिन्न कारणले गर्दा उक्त योजना अघि बढ्न सकेन। मूलत: विश्वका सबै ठूला सहरहरुमा जनसंख्या २० लाख भन्दा बढी भएपछि मेट्रो रेलको अवधारण अघि सारिन्छ। र त्यो कार्यान्वयमा ल्याइएको पनि छ।

काठमाडौँ उपत्यकाको जनसंख्या पहिले नै २० लाख नाघिसकेको थियो। सन् २०१० मै मेट्रो रेलको आवश्यकता परेको भनेर योजना निर्माण गरेको हो। र त्यसका लागि उपत्यकामा सम्भाव्यता अध्ययन भएको थियो।

विश्वका ठूला सहरमा जति यातायातको क्षेत्रफलले ओगटेको हुन्छ त्यसको १७ देखि २० प्रतिशत क्षेत्रफल यातायातका लागि छुटटएको हुन्छ। तर हाम्रो मुलुकको हकमा चारदेखि पाँच प्रतिशत छ। त्यसले गर्दा हाम्रा सडक साँघुरा छन्। गल्लीहरु पनि त्यत्तिकै छन्। यी सबै कारणले ट्राफिक जामको सास्तीमा जनताले भाेग्नु परेकाे छ।

यति धेरै यातायातका संरचना निर्माण भइसकेको छ। ती सबै हटाएर नयाँ ल्याउने अवस्था पनि छैन। त्यसकारण हामीले जमिन मुनी या जमिनमाथिबाट मेट्रो रेल चलाउनु पर्छ।

यति ठूलो यात्रुको चापलाई सहज यातायातको सुविधा उपलब्ध गराउनु पर्ने हाम्रो पनि दायित्व हो।

मेट्रो रेल सञ्चालनको मुख्य ध्येय के हो?

मुख्य उद्देश्य भनेकै यात्रुलाई जामबाट मुक्त बनाउने हो। छिटो र सजिलो यात्राका लागि मेट्रो रेल सञ्‍चालन गर्नुपर्छ भन्‍ने हाम्रो उद्देश्य हो। मेट्रो रेल सञ्चालनमा आयो भने प्रत्येक व्यक्तिले यातायातका साधन खरिद गर्नु पर्दैन थियो।

उदाहरणका लागि कलंकीबाट सिंहदरबार जान कर्मचारीलाई आफ्नो निजी सवारी साधन चाहिने थिएन। साना सवारी साधनको चाप घट्ने वित्तिकै धुवाँ कम हुने थियो। पेट्रोल कम लाग्थ्यो। हामी सबैको स्वास्थ्य राम्रो हुने थियो।

करिब ९ वर्षअघि सम्भाव्यता अध्ययन भएपनि काम किन अघि बढेन?

वास्तवमा सबै कामले गति पाएको भए अहिलेसम्म मेट्रो रेल सञ्चालनमा आइसक्थ्यो । हामीले कुन–कुन रुट विस्तार गर्ने भन्नेबारे छलफल गरिरहेका हुन्थ्यौँ।

तर त्यो बेलाको राजनीतिक उतारचढाव र अस्थिरताको कारण कामले गति पाउन सकेन। राजधानी पनि अस्तव्यस्त भयो। सरकार पटकपटक परिवर्तन हुने र नीति पनि परिवर्तन गर्ने काम भयो तर मेट्रो रेलको योजना कार्यान्वयनको पाटो ओझेलमा पर्‍यो।

राजनीतिलाई मात्रै दोष दिएर रेल विभाग उम्किन मिल्छ र?

यदि कुनै पनि प्रोजेक्टको सुरुवात भयो भने त्यसको निर्णयकर्ता दुई किसिमका हुन्छन्। एउटा कर्मचारी र अर्को राजनीतिक नेतृत्व।

राजनीतिक नेतृत्वबाट प्रोजेक्ट सुरुवात गरियो भने त्यसलाई निरन्तरता दिने काम कर्मचारीबाट हुन्छ। जस्तो मध्यपहाडी लोकमार्ग निर्माणको काम सुरु भयो। अर्थमन्त्रालयबाट बजेट पेश भयो । नीति तथा कार्यक्रममा पर्‍यो। त्यसलाई बीचका राजनीतिक उतारचढावले असर पारेन।

तर मेट्रो रेलको निर्माण नै सुरु भएन। राजनीतिक नेतृत्वबाट नै यो कामको सुरुवात भएन।

यतिका समय ओझेलमा परेको काठमाडौँमा मेट्रो रेल सञ्चालन सम्भव छैन भन्ने प्रतिक्रिया धेरैले दिइरहेका छन्। यसमा तपाई के भन्नुहुन्छ?

कामको सुरुवात गतवर्ष देखि नै भएको हो। यो वर्ष सुरु भएको होइन। परामर्श दातृ संस्थाको छनौट प्रक्रिया गतवर्ष देखि नै सुरु भएको हो। यो प्रक्रिया लामै हुन्छ।

अब यहाँ बिना अध्ययन मेट्रो रेल सञ्चालन सम्भव छैन भनिएको छ। बिना अध्ययन यसरी बोल्नु गलत हो। सम्भाव्यता अध्ययनले मेट्रो रेल सञ्चालनको सम्भावना छ भनेको। डीपीआर गरेपछि थप जानकारी प्राप्त हुने छ त्यसबारे। यहाँ भौर्गभिक कारणले मेट्रो रेल सम्भव छैन भनेका होलान् कतिपयले, त्यो पनि स्वाभाविक हो।

तर भौर्गभिक समस्यालाई पनि समाधान गर्न सकिन्छ। भुइँचालो कारण बन्न सक्ला। त्यसको जोखिम पनि कम गरेर मेट्रो रेल सञ्चालन गर्न सकिन्छ।

नेपालमाभन्दा धेरै भूइँचालो जाने देश जापानमा मेट्रो रेल चलेको धेरै भयो। त्यसैले सबै विषयको अध्ययन नगरी त्यसै बोल्न उपयुक्त हाेइन।

त्यसाे भए कसरी सम्भव हुन्छ मेट्रो रेल सञ्चालन?

मेट्रो रेल सञ्चालनका लागि पहिले यात्रु हुनुपर्छ। यदि यात्रु छन् र मेट्रो रेल पनि बनेको छ भने बाँकी पक्षलाई सम्वोधन गर्न सकिन्छ। यो सरकारले आफै सञ्चालन गर्न सक्छ। निजी क्षेत्रले पनि बनाउन सक्छ।

सरकारले गर्न सक्दैन भनेर आलोचनाका लागि आलोचना मात्रै गरेको हो। बाहिरबाट मानिस वा संस्था ल्याएर पनि काम गर्न सक्छौँ। मेट्रो रेल सञ्चालनमा कुनै समस्या छैन।

यात्रुको अवस्थाबारे अध्ययन भएको छ ?

यसका लागि कुनै विशेष अध्ययनको आवश्यकता पर्दैन। कारण २० लाखभन्दा बढी जनसंख्या भएको कुनै पनि सहरमा मेट्रो रेल सञ्चालन गर्न सकिन्छ। अन्य मुलुकमा यही अभ्यास भएको छ।

यदि कुनै सहरमा पाँच वर्षपछि २० लाख जनसंख्या पुग्छ भने त्यहाँ मेट्रो रेलको आवश्यकता पर्छ। ट्राफिक जामको समस्या समाधान गर्न सक्दैनन्। धेरै यात्रु बाेक्ने सिष्टम र साधनको विकास गर्नुपर्छ। त्यसबारे अध्ययन गरे राम्रो हुन्छ।

तपाईले मेट्रो रेल सञ्चालन सम्भव छ त भन्नु भयो तर यसको जटिलता र कठिनाई के–के छन्?

जटिलता सबै विकास निर्माणका काममा आउने गर्छन्। मेट्रो रेल बनाउँदा पनि जटिलता अवश्य पनि आउनेछन्। हामीसँग विश्व सम्पदाको सूचीमा रहेका थुर्पै सम्पदाहरु छन्। मेट्रो रेल सञ्चालन गर्दा तिनलाई कसरी जोगाउने भन्ने चुनौती छ। ती सम्पदालाई जस्ताको त्यस्तै राखेर कि जमिनमुनि कि माथिबाट मेट्रो चलाउनुपर्छ। ती सम्पदालाई छेक्ने वा ओझेलमा पारेर पनि मेट्रो रेल निर्माण गर्न मिल्दैन।

उपत्यकामा पहिले ताल थियो। त्यही किसिमको माटो छ। त्यसको अवस्थाबारे पनि अध्ययन हुन आवश्यक छ। भूइँचालोबाट पनि बच्ने गरी निर्माण गर्नुपर्छ। यस्ता खालका इन्जिनियरिङ समस्या समाधान गर्न सकिन्छ।

कति समय लाग्ला मेट्रो रेल निर्माणका लागि ?

कुनै पनि निर्माण कार्यको समयावधि तोक्न मिल्दैन। त्यसको प्रक्रिया र वातावरणको अवस्थाले त्यो निर्धारण गर्छ। हामीकहाँ समस्या धेरै छन्। सानो समस्याले धेरै लामो समय खान्छ।

रानी पोखरीको निर्माण गर्न यतिका समय नलाग्नु पर्ने थियो। समस्यारहित वातावरणमा काम गर्ने मौका मिल्ने हो भने ठूला संरचना पनि पाँच देखि सात वर्ष लाग्छ। प्रोजेक्टको प्रारम्भ सम्भाव्यताबाटै हुन्छ। तर एउटा विन्दुमा रोकिन्छ।

निर्माण प्रारम्भ भएपछि बजेटको समस्या, स्थानीय निर्माण सामाग्रीकाे समस्या, मुआब्जादेखि स्थानीय अवरोधहरु, वातावरण प्रभाव मूल्यांकनदेखि अन्य समस्या नहाेस् र कोही मानिसलाई चित्त नबुझेको खण्डमा बुर्लुक्क उत्रियो भन्दैमा काम नरोकियोस्। मेट्रो रेल पाँच वर्षदेखि सात वर्षभित्र सञ्चालनमा आउँछ।

भनेपछि व्यवधान त थुप्रै रहेछन् नि?

व्यवधान छन्। तर ती सबै व्यवधान हटाउन सकिने खालका छन्। ती सबै समस्या समाधान गर्ने राज्य नै हो। सरकारले एक मन्त्र, अर्वौको माछाको आँखामा परेको नजर जस्तो गरी एक दृष्टि लगाएर काम गर्‍यो भने मेट्रो रेल सञ्चालन असम्भव छैन।

अध्ययनको स्तर कस्तो हुनु पर्ला?

कुनै पनि आयोजनाको सम्पन्नताको गुणस्तरसँग अध्ययनको गुणस्तर जोडिएको हुन्छ। यदि हामीले गुणस्तरयुक्त अध्ययन गर्ने हो भने आयोजना या संरचना पनि गुणस्तरयुक्त हुनुपर्छ। माटो अनुसारको जग खन्दा पानी आउने ठाउँ, चट्टान आउने ठाउँको पहिचान गरिएको छ अध्ययनबाट भने घर निर्माणको काम स्पष्ट र सहज हुन्छ।

सरकारले मेट्रो रेल आफै बनाउन सक्छ?

यसमा प्राविधिक रुपमा सहयोग लिनुपर्छ। हामी दक्ष छैनौँ यस मामिलामा। आर्थिक रुपमा कुन तवरबाट बनाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ।

पब्लिक प्राइभेट पार्टनरसिप ‘पीपीपी’बाट अघि बढ्न सकिन्छ। हामीसँग जनसंख्या छ, जो मेट्रो रेल चढ्नेछन्। त्यसले गर्दा यो नाफामा जानेछ। अहिले प्रारम्भिक लगानीका लागि स्रोत जुटाउन मात्रै समस्या हो। भविष्यमा यसमा फाइदा हुनेछ।

अहिले सरकारले आफै लगानी गर्न सक्छ। ७०–७२ किलोमिटरमा मेट्रो रेल निर्माण गर्न सकिने सम्भाव्यता अध्ययनबाट देखिएको छ। त्यसको मुल्य पाँच खर्ब रुपैयाँ हो। सात अर्व प्रतिकिलोमिटरमा खर्च होला। त्यति रकम आफै सरकारले जोहो गर्न सक्छ।

एक वर्षको बजेट १७ खर्बको छ। त्यो चाहीँ पाँच वर्षमै ७२ किलोमिटर त बन्ने होइन। प्रतिवर्ष ४० अर्ब लगानी गर्नु पर्ने हुन्छ। त्यसमा केही ऋण सहयोग लिन सक्छौँ। यदि हामीले इच्छा देखायौँ भने उपाय आफै आउनेछन्।

संघीय सरकारले मेट्रो रेल सञ्चालन गर्ने भन्दै काम अघि बढाएका बेला स्थानीय सरकार अर्थात महानगरपालिकाले मोनोरेल ल्याउने तीन वर्षीय महत्वकांक्षी योजनाको घोषणा गरेको छ? यो कति सम्भव छ?

मलाई जानकारी भएअनुसार उहाँहरुले रेल विभागसँग यसबारे कुनै पनि समन्वय गर्नु भएको छैन। उहाँहरुले आफ्नो हिसाबमा काम अघि बढाउनु भएको छ।

मोनोरेल बनाउन जरुरी छैन। मनो रेलले हाम्रो आवश्यकतालाई परिपूर्ति गर्दैन। अस्ट्रेलियाको सिड्नीमा बन्द गर्नु परेको छ। मनो रेलको सट्टा लामा–लामा बस चलाउनु उपयुक्त छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?