
झापा– कृषि उपजको भाउमा किसानले सन्तुष्टि नपाइरहेको अवस्थामा अहिले अदुवाको भाउले भने उनीहरुलाई सन्तुष्टि दिलाएको छ।
बजारमा चर्को मूल्यमा उपभोक्ताले तरकारी लगायत कृषि बस्तु किन्नु परे पनि किसानले पाउने मूल्यमा कुनै परिवर्तन आएको छैन। प्रायः आफ्ना उत्पादनले राम्रो भाउ नपाएर चिन्तित किसानहरुले अदुवाको भाउ बढेसँगै राहत मिलेको बताएका छन्।
अदुवाको भाउ बढेसँगै अदुवा उत्पादनको मुख्य जिल्ला मानिएको इलामका किसान खुसी भएका छन्। गत वर्ष प्रतिमन (४० किलो) एक हजारदेखि एक हजार ५०० रुपैयाँको हाराहारीमा रहेको अदुवाको मूल्य बढेर अहिले प्रतिमन ६ हजार रुपैयाँ पुगेपछि किसानहरु खुशी भएका हुन्।
व्यापारीले किसानसँग प्रतिमन कम्तीमा ६ हजार रुपैयाँको हाराहारीमा अदुवा खरिद गर्दै आएका छन्।
अदुवा फागुन– चैत्र महिनामा रोपिन्छ। त्यतिबेला रोपेको अदुवाको हाल माउ (बुडी) झिक्ने गरिन्छ। रोपिएको बिउ अदुवा नै माउको रुपमा झिकेर बेच्ने गरिन्छ। रोपिएको माउ नै बेच्ने कृषि उत्पादन अदुवा मात्र हो। बिउ नै निकालेर उच्च मूल्यमा बेच्न पाउँदा किसान खुशी भएको किसान रोम अधिकारीले बताए।
उनले भने, ‘अहिलेसम्म कै उच्च भाउमा अदुवा बेच्न पाउँदा खुशी नहुने कुरै भएन।’
इलामका प्रायः सबै क्षेत्रमा अदुवाको खेती हुन्छ। यहाँका धेरै किसानहरु अदुवा उत्पादन गर्दछन्। इलाम मंगलबारेका व्यापारी मात्रिका घिमिरेका अनुसार अहिले उच्च मूल्यमा किसानका घरबाटै अदुवा उठाउने गरिएको छ।
मसलाका रुपमा प्रयोग गरिने अदुवाको मुख्य बजार भारत हो। अदुवाको भाउ राम्रो भएपनि समय–समयमा नेपालको अदुवा भारत निकासीमा समस्या गराउने गरेकाले किसान तथा व्यापारी चिन्तित छन्।
निकासीमा आउने समस्या सँधैका लागि अन्त्य भए किसानलाई अदुवा उत्पादन बढाउन र व्यापारीलाई ढुक्कका साथ अदुवा खरिद गर्ने वातावरण मिलाउन उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।