
अरुका कुरा सुन्नु जति झ्याउ केही लाग्दो रहेनछ ।
लगातार जसो बिनास र बिकृतिका कुरा कति सुन्नु ? आज पनि उही कुरा । पृथ्वी मानवका कारण बिनास तिर जाँदैछ । हामीले हाम्रो धर्ती माथि न्याय गरिरहेका छैनौं । दिनानुदिन वातावरण बिनास भइरहेकोछ । ओजोन तह पातलिँदैछ । मानवीय आवश्यकताले प्रकृतिका अनुपम उपहारहरुको दोहन भइरहेको छ ।
वातावरण जस्तो सवालमा दिन दिनै बहसमा उत्रिनु कहाँ सजिलो थियो र ? त्यसमा पनि विदेशको बसाई ।
विदेश भने पछि यसै ध्यान तानिन्छ । जसरी हामी विदेश र विदेशीको मोहमा पर्छौँ, त्यसरी नै उनीहरु पनि मोहित नहुने कुरै छैन ।
अचानक कसैले पछाडिबाट कुममा हात राख्यो ।
यसै त ढिलो भइरहेको छ । बिहान ७ बजेदेखि उही धाराप्रवाह अंग्रेजीका शिर्षक भित्र अलमल गरिरहँदा कता कता आफैलाई बिर्सेका भान भइरहेको छ । त्यसमा पनि आफ्नो फिरन्ते टाइपको जीवनशैली भित्र एउटा अव्यस्त दैनिकी बिताउनु जटिल नै थियो ।
‘हेल्लो, हाउ आर यू …?’ पछाडिबाट नै प्रश्न तेर्सियो ।
‘फाइन्,’ स्वाभाविक रुपमा उत्तर दिन कर लाग्छ ।
आज बल्ल तेस्रो दिन थियो, कोलम्बो बसाइको । अझै केही दिन बिताउँनै पर्नेछ ।

तीर्थ सिग्देल
तर, कस्तो भने । मान्छे अनुसारको स्वभाव हुँँदो रहेछ । बल्ल तीन दिनको बसाइमा मात्र कसैले हेल्लो हाइ गरिरहहेछ । तै पनि अप्ठेरो । के गर्ने ? बोल्ने की नाई ? उसले दोहोर्याई ।
‘आर यू फ्रम नेपाल ? द कन्ट्ररी अफ बुद्ध ?’
‘यस, आइ एम फ्रम नेपाल’
उसले अंग्रेजी मै कुरा खोतली । कनिकुथी अंग्रजीमा कुरा गर्ने बानी नै लागिसक्यो । किनभने देश अनुसारको भेष र भेष अनुसारको रेसमा दगुर्नु नै पर्ने रहेछ । नत्र पछि पर्ने निश्चित प्रायः छ ।
यो कुरा नबुझेर पनि धरै थिएन ।
लगत्तै चियर्सको आवाज आयो । अब त्यसै गर्नुको विकल्प थिएन । सँगै गएका नेपालीहरुले पनि त्यसै गरे । अलिकति बियर त पिउनै पर्ने भयो । तेस्रो दिनको सेड्युलमा नै लेखेको थियो, रिफेसमेन्टको बारेमा । अनि त के चाहियो र ?
संसारलाई थाहा छ । श्रीलंका माछामा आत्मनिर्भर मुलुक हो । त्यहाँ पुगेपछि त अझ मज्जाले देख्न पाइयो । किनभने ब्रेकफाष्टमा पनि माछाका परिकार खानु परिरहेको छ । यतिसम्म की चियासँगै लिने बिस्कुटमा पनि माछाको स्वाद आइरहेको हुन्छ ।
चारैतिरबाट समुदै समुद्रले घेरिएको मुलुक भएर मात्र नभएर लामो समयसम्म युद्धले जकडेको देश हो यो । त्यस अर्थमा पनि केही जान्ने उत्सुकता र कौतुहलता जाग्नु स्वाभाबिकै हो । अझ विश्वका १३ मुलुकबाट आएका प्रतिनिधीहरुसँगको घुलमिलसँगै बैचारिक आदानप्रदान र सामिप्यताले निक्कै मज्जा भइरहेको छ ।
तीनै महिला, जो मेरो नजिकिरहेको महसुस भइरहेको छ । फेरि उनैका केही सवालहरुका जवाफ दिनै पर्ने बाध्यताले म जेलिएको छु ।
पूरै परिचय आदानप्रदान भयो । उनको नाम अमीला सामन्थी हो । उनी श्रीलंकन् हुन् ।
उनी अंग्रजी मै बोल्न थालिन् ।
‘आई एम हेप्पी मिट् टु यू ।’
‘थेंक्यू’
‘आइ एम रेस्पेक्ट टू नेपाल । नेपाल इज अ बुद्ध बर्न कन्ट्ररी ।’
म महसुस गरिरहेको छु । उनी मसँग पहिलो दिनदेखि नै कुरा गर्न चाहिरहेकी थिइन् ।
श्रीलंका बुद्धिष्ट कन्ट्ररी हो । त्यही भएर श्रीलंकनहरु नेपालप्रति श्रद्धाभाव दर्शाउँछन् । नेपालीहरुप्रति आदर दर्शाउँछन् । अमीलासँगको कुराकानीले त्यो भाव झल्किन्थ्यो । मानौ म नै बुद्ध भगवान हूँ । वा, स्वयम् म बुद्धको अवतार हूँ ।
‘आरयू अल्सो बुद्धिष्ट ?’
उसको यो प्रश्नले भने म डल्लिएँ । नाजवाफ बनें ।
के जवाफ दिऊँ ? यस् अर नो । अलमलमा परियो ।
म देखिरहेको छु । ऊ आफ्नो प्रश्नको उत्तर आउने ब्यग्र प्रतिक्षामा छे । उसको अनुहार म तिरै फर्किरहेको छ । माना,ै म उसको कोही हो । नजिककै मान्छे हूँ । र, ऊ मेरै भर परिरहेकी छे । मेरै शरणमा छे र मबाट के जवाफ आउला र त्यसै गरु भने जस्तो गरेर बसेकी छे । एउटा आज्ञाकारी छात्रा झैं ।
भन्न कर लाग्यो ।
मैले भने, ‘नो आइएम नट् बुद्धिष्ट ।’
उसले मेरो कुरा भूँइमा खस्न नभ्याउँदै प्रश्न तेस्याई ।
भनी, ‘ह्वाट्…यू आर नट् बुद्धिष्ट …। ह्वाई…?’
सोधी, ‘हू… आर यू…? मुस्लिम ?’
‘नो नो… आइएम हिन्दू…।’
उनको मुहारमा अलिकती भएपनि खुशी झल्कियो । कालो बर्ण भएपनि उनको बनावट हिस्सी परेको छ । त्यो भन्दा पनि कन्फेरेन्स एटेन्ड गरेदेखि नै देख्नु परिरहेको छ । त्यो के भने ऊ सँधै सारी लगाएर आउँछे । एउटी ब्यबहारिक खालकी महिला, उनलाई देख्ने बित्तिकै यस्तो लाग्छ । ऊ कुनै पढे लेखेकी महिला हो ।
उसले आफू एक पटक नेपाल आएको बताइ । लुम्बिनी जुन बुद्ध जन्मेको ठाउँ हो, ऊ त्यहाँ पुगेकी रहिछ । उसले यो पनि जानकारी दिइ की श्रीलंकनहरु आफ्नो जीवनमा एक पटक लुम्बिनी जान पाउँनुमा गौरव अनूभुत गर्छन् रे । अझ जीवनभरमा जति सुकै दुःख गरे पनि एक पटक लुम्बिनी पुग्न पाए आफुलाई धन्य ठान्छन् रे ।
मैले तत्कालै गर्ब महसुस गरेँ की हामी त्यो देशका नागरिक हौं, जुन देशमा भगवान गौतम बुद्धको जन्म भएको थियो । जसका कारण आज मुलुक विश्वमा चिनिएको छ । आज नेपाल भन्ने बित्तिकै विश्वभर लुम्बिनी र सगरमाथाको देश भनेर चिनिन्छ ।
उसले बताई की ऊ लुम्बिनी जाँदा सानी थिई । मात्र पाँच वर्षकी । ऊ अहिले पनि सम्झिन्छे रे । आफ्ना बुवा आमासँग काखमा खेल्दै आफ्नो आश्थाको केन्द्र पुगेको क्षण ऊ सम्झिन खाजिरहेकी छे ।
उसले भनी,
अहिले सम्झिदा अचम्म लाग्छ । त्यसबेला हामीले साह्रै दुःख पाएछौं । हामी कोलम्बोबाट एक दिनको बाटो पानी जहाज चढेछौं । त्यहाँबाट बल्लतल्ल भारतको हालको चेन्नई आइपुग्यौं । त्यहाँबाट तीन दिनको रेल यात्रा गरेर बल्ल नेपालको बोर्डरमा पुगेका रहेछौं । घरबाट हिँडेको सात दिनमा मात्र हामी लुम्बिनी पुगेछौं ।
फर्किदाको क्षण ऊ सम्झिन चाहन्न । किनभने समान प्रकृतिमा पीडाबोध गरेकी छे उसले । भारतको यात्रा सबैभन्दा कठिन ठान्छे ऊ । भारतीय रेलको यात्रा सम्भवतः संसारकै सबैभन्दा कठिन र डरमर्दो लाग्छ, उसलाई । बरु उसले दुई दिनको नेपाल बसाई निक्कै आनन्ददायक ठानी ।
अहिले ऊ सक्षम महिला हो । उसले आफ्नै अफिस खोलेकी छे । त्यही भएर एक पटक फेरि लुम्बिनी जान चाहन्छे । उसलाई थाहा छ, अबको लुम्बिनी यात्रा विगतको जस्तो कठिन र पीडादायी हुने छैन । किनभने अब सिधै कोलम्बो टू काठमाडौं प्लेन चल्छ । अब उसले व्यस्ततामा धेरै दिन खर्चिनु पर्ने छैन ।
तपाई अति नै भाग्यमानी हुनुहुन्छ । किनकी तपाईको देश भगवान गौतम बुद्धको जन्म थलो हो । तर, दुःखको कुरा तपाईको देशमा पनि लामो समयसम्म हिँसा चर्कियो रे ।
किन यस्तो हुन्छ ? किन मान्छेहरु मर्न र मार्न तयार हुन्छन् । बिनाकारण मर्नु हुन्न मान्छेहरु । किनभने हाम्रो मुलुक पनि लामो समयसम्म हिँसाको चपेटामा परेको मुलुक हो । त्यसको पीडा हामीले राम्ररी बुझेका छौं । अहिले पनि त्यो दिन सम्झिँदा शरीर काँप्छ, थररर…। आज हामी ती दिन सम्झन चाहदैनाैँ, बिर्सेर पनि ।
तपाई पत्याउनु हुन्छ ? हामीले लामो समयसम्म युद्धलाई झेल्यौं । के गुमाएनौ हामीले ? ८० हजारको त ज्यानै गयो । धेरैको घर परिबार बिग्रियो । व्यवहार बिग्रियो । समाज दिग्भ्रमित भयो । शिक्षा, स्वास्थ्य, वाताबरण क्षेत्रसंगै विकास निर्माण तहस नहस भयो । भौतिक संरचना भत्किए । वर्षोंसम्म हिंसा र प्रतिहिंसाको मारमा पर्यो मुलुक ।
बुद्धिष्ट मुलुक भएर पनि हामीले शान्ति विथोल्यौं । सिंहाली र तमिलका नाममा काटमार गर्यौँ । वर्षोंसम्म पनि स्कूल खुललेन् । पढ्ने वातावरण बनेन । शिक्षामा हामी पछि पर्यौँ । कृषि र पर्यटनका आधारमा अगाडि रहेको मुलुक पछि पर्यो ।
के तपाईको देशमा यस्तो भएन र ? नेपाली जनताले दुःख पाएनन् ? के नेपाली जनता शान्तिप्रिय छैनन् ? जसरी श्रीलंका बुद्धिष्ट कन्ट्री भएर पनि श्रीलंकामा युद्ध भयो, हिंसा चर्कियो । त्यसरी नै नेपाल बुद्धको जन्मभूमि भएर पनि जनयुद्धको नाममा मान्छेहरु मारिए, राजनीतिका नाममा । किन…?
झण्डै उसले एक घण्टा जति एक्लै बोलिछे । म सुनिरहेको छु उसका कुरा, निरुत्तर बनेर । त्यो भन्दा पनि म ऊ प्रति धन्य छु । किनभने उसको देशको बारेमा धेरै कुरा थाहा पाउने मौका जो पाएको छु ।
त्यो भन्दा पनि एउटी महिला, जो आत्मनिर्भर छे । ऊ आफ्नो बारेमा आफै सोच्न सक्छे र बोल्न सक्छे । त्यस्तो ब्यक्तिसँग भलाकुसारीसँगै अन्तरंग गर्न पाउँदा सन्तुष्टी पाइरहेको छु ।
म भने उसको जेनेरल नलेज देखेर प्रभावित भइसकेको थिएँ । उसमा मैले एउटा अचम्मको क्षमता देखें । एउटा पराइसँग एकान्तमा घण्टौसम्म बिना हिच्किचाहट कुरा गर्ने सामाथ्र्य राख्थी ऊ । त्यसमा उसमा कुनै नकारात्मक भाव देखिँदैन । न म ऊ प्रति त्यस्तो केही सोच्न सक्थें ।
तर उसको एउटा जटिल प्रश्नले भने मेरो मन मस्तिष्कमा घर गरिरहेको थियो । यक्ष प्रश्न बनेर… ।
उसले भनेकी थिई, ‘आज संसारले श्रद्धा गर्ने बुद्ध जन्मेको देशको नागरिक भएर पनि तपाईं किन बुद्धिष्ट हुन सक्नु भएन ?’