
झापा – नेपालका चिया बगान तथा उद्योगबाट उत्पादित तयारी चियाको गुणस्तर पत्ता लगाउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शुरु गरेको छ।
भारतबाट प्राविधिक ल्याएर तीन दिनसम्म नेपालमा उत्पादित चियाको गुणस्तर हेर्न लागिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका निमित्त प्रमुख रामएकवाल यादवले जानकारी दिए।
अहिले चिया तथा कफी विकास बोर्डमा ११ जना चिया प्राविधिक कार्यरत छन्। उनीहरु लगायत चारवटा चिया सहकारीका चारजना प्राविधिकलाई समेत भारतीय प्राविधिकद्वारा चिया गुणस्तर जाँच्ने प्रशिक्षण दिन शुरु गरिएको यादवले बताए।
उनले भने, ‘हाम्रा चिया प्राविधिकहरुलाई पनि दक्ष बनाउन भारतबाट प्राविधिक मगाएर चिया गुणस्तर जाँच्ने प्रशिक्षण दिइएको हो।’ उक्त प्रशिक्षण तीन दिनसम्म चल्ने चिया प्राविधिक नवीन कोइरालाले जानकारी दिए।
आइतबार सिटिसी, सोमबार अर्थोडक्स र मंगलबार स्पेसियालिटी टीको गुणस्तर मापन प्रशिक्षण हुने उनले बताए।
उक्त परीक्षण प्रशिक्षणमा झापा, इलाम तथा अन्य चिया उत्पादिन हुने जिल्लामा रहेका उद्योगका उत्पादनका नमूनाको परीक्षण हुनेछ।
कुन चियाको गुणस्तर कस्तो छ भन्ने कुराको जानकारी सम्बन्धित चिया उद्योगी तथा प्राविधिकहरुलाई दिइने कोइरालाले बताए। ‘गुणस्तर बढाउन के गर्नुपर्छ भन्ने कुराको जानकारी हामी चिया उद्योगहरुलाई दिने छौँ’, कोइरालाले भने।