
झापा – नयाँ संविधान जारी भएको चार बर्ष पूरा भएको उपलक्ष्यमा आयोजित संविधान दिवस समारोहमा आदिवासी जनजाति समुदायका मानिसहरु आफ्ना सांस्कृतिक झाँकीका साथ निस्किएका छन्।
शुक्रबार झापाको विर्तामोड नगरपालिका कार्यालयले विर्तामोडको मुक्ति चोकमा आयोजित कार्यक्रममा उनीहरु आफ्ना भेषभूषाका साथ कार्यक्रममा सहभागी भएका हुन्।
कार्यक्रममा विभिन्न जातीय नाचसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरुले आजको दिन ऐतिहासिक दिन भन्दै संविधानलाई सर्व स्वीकार्य बनाउनुपर्नेमा जोड दिए।
पूर्व सांसदहरु डिल्ली सिटौला, मनकुमार गौतम तथा सुधीरकुमार शिवाकोटीले जनताले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई बचाइराख्न सबैको खबरदारी आवश्यक भएको बताए।
संविधान दिवसकै उपलक्ष्यमा सत्तारुढ नेकपाले पनि झापाको विर्तामोडमा समारोहको आयोजना गरेको छ। उक्त समारोहलाई उपप्रधानमन्त्री इश्वर पोखरेल, सांसद सुरेन्द्रकुमार कार्कीलगायत नेताहरुले सम्बोधन गर्ने नेकपा झापाले जनाएको छ।