विदेशमा बसेरै ह्याकरले कृषि विकास बैंकको करिब पाँच करोड रुपैयाँ ११ व्यक्तिको खातामा पुर्‍याए

+
-

काठमाडौँ: गत आइतबार बानेश्वरको पानस रेमिटमा काम गर्ने कर्मचारीलाई महसुस हुने गरी एउटा घटना भयो। एकै ठाउँबाट आएको पैसा रिसिभ गर्न लगातार ७ जना मान्छे आएपछि त्यहाँका कर्मचारीले तुरुन्तै प्रहरीलाई खबर गरे। उनीहरुले ६०/६० हजार रुपैयाँ निकालेकाले पनि कर्मचारी शंकित हुनुपर्ने अवस्था थियो ।

सोही दिन साँझ काठमाडौंको तारकेश्वर बस्ने २६ वर्षीय सञ्जय घले पक्राउ परे। सञ्जयले त्यो पैसा आफुलाई नुवाकोटका ४३ वर्षीय लवाङ तामाङले झिक्न लगाएको र त्यो पैसा उनलाई दिने तयारी रहेको बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा त्यस दिन आफ्नो माइजु पर्ने ४० वर्षीय लक्ष्मी लामा तामाङ, उनकी छोरी २० वर्षीय निर्मला तामाङ र छोरा १८ वर्षीय निमा तामाङले पनि उक्त रेमिटबाट ६० हजार रुपैयाँ पैसा निकालेको सञ्जयले बयान दिए।

महानगरीय प्रहरी अपराध महाशाखाले तीनै जना आमाछोराछोरीलाई नियन्त्रणमा लियो। चारै जनाले लवाङको नाम लिएकाले प्रहरीको टोली उनि बसिरहेको नुवाकोटतर्फ लाग्यो। लवाङ ३१ लाख रुपैयाँसहित पक्राउ परे।

‘मलाई भारतको मुम्बई बस्ने एक व्यक्तिले फोन गरेर तिम्रो खातामा ५० लाख रुपैयाँ आएको छ। १० प्रतिशत कटाएर बाँकी मलाई पठाउनु भनेका थिए’, आफ्नो टोलीसँग भेट भएलगत्तै लवाङले दिएको बयान उल्लेख गर्दै महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन्। लवाङले आफ्नो खातामा कृषि विकास ब‌ैंकबाट पैसा जम्मा भएको बताएपछि प्रहरीले तत्कालै कृषी विकाश ब‌ै‌ंकमा खबर गरि अनुसन्धान अगाडि बढाएको थियो।

प्रहरीको दावीअनुसार मुम्बईमा बसेर लवाङलाई निर्देशन दिने ती व्यक्ति ह्याकर हुन्। ती व्यक्तिले सिरहाको लहानस्थित कृषि विकास बैंकको लग इन युजर र सिस्टम ह्याक गरेर ४ करोड ४३ लाख रुपैयाँ सोही बैंकका विभिन्न ११ व्यक्तिगत अकाउन्ट, कैलाश बैंक र रेमिटमा ट्रान्सफर गरेको दावी प्रहरीको छ।

‘तर त्यसरी ट्रान्सफर भएको रकममध्ये ६० लाख रुपैयाँ मात्र झिक्न पाएको र त्यो रकम सबै हामीले बरामद गरेका छौँ’, एसएसपी थापाको दावी छ।  ह्याकरले नेपालमा सम्पर्क एजेन्ट बनाएर तीनैमार्फत ट्रान्सफर भएको रकम जम्मा गर्ने र आफुलाई पठाउन लगाउने गरेको प्रहरीको प्रारम्भिक निष्कर्श छ।

पैसा ट्रान्सफर भएका कृषि विकास बैंकका अकाउन्ट होल्डरमध्ये तीन/चार जना आफ्नै ऋणी रहेको सो ब‌ैंकका उपमहाप्रबन्धक दीर्घ अर्यालले बताए। ‘हाम्रो लहान शाखाबाट मात्र उक्त रकम व्यक्तिको खातामा ट्रान्सफर भएको पाइएको छ। पैसा गएका खाता धनीमध्ये केही हाम्रै  ऋणी पनि छन्’, अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने।

कृषि विकास बैंकले लहान शाखाका सम्पुर्ण कर्मचारीलाई काम गर्नबाट रोक लगाएर अन्य कर्मचारीलाई त्यहाँ खटाएको छ।

‘ त्यस शाखाको प्रयोग भएको लग इन युजर कर्मचारीले ह्याकरलाई दिएका हुन् या ह्याकरले ह्याक गरेका हुन् त्यो अनुसन्धानबाट खुल्दै जाला। तर तत्काललाई हामीले त्यहाँका कर्मचारीलाई काम गर्नबाट रोक लगाएका छौँ’, अर्यालले भने। घटनाको छानबिन गर्न चार सदस्यीय समिति बनाइएको उनले जानकारी दिए।

प्रहरीले पैसा निकाल्ने, जम्मा गर्ने, ह्याकरलाई पठाउनेलगायत कार्यमा संलग्न १२ जनालाई पक्राउ गरिसकिएको जनाएको छ। पक्राउ गरिएकामध्ये कृषि विकास बैंकका ११ जना खाता धनीमध्ये चार जना पनि छन्। अन्य ७ जना भने फरार रहेको प्रहरीले जनाएको छ। महाशाखा प्रमुख थापाले ह्याकरले मुम्बईमा सम्पर्क एजेन्ट बोलाएर यसको योजना बनाएको बताए। ‘एजेन्टहरुबीच एक आपसमा चिनजान देखिँदैन। एजेन्टले नै अन्य व्यक्तिहरुलाई सम्पर्कमा ल्याएको देखिन्छ’, थापाले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ह्याकरले रेमिटमा विभिन्न २० व्यक्तिको नाममा पैसा पठाएका थिए। १०/१० जनाका दुई जना सम्पर्क एजेन्ट थिए। तीमध्ये एक हुन् लवाङ। १० जनाले रेमिटबाट झिकेर बुझाएको पैसा ह्याकरलाई पठाउने जिम्मा लवाङको थियो।

५ अर्ब लुट्ने योजना 

सम्पर्क एजेन्ट र ह्याकरबीच भएको विच्याट कुराकानीमा नेपालका बैंकबाट ५ अर्बभन्दा बढी पैसा व्यक्तिको नाममा ट्रान्सफर गरि लुट्ने योजना रहेको खुलेको महाशाखाको दावी छ। तर कृषी विकाश बैंकका उप महाप्रबन्धक अर्यालले बैंकको एउटै शाखाबाट मात्र पैसा ट्रान्सफर भएकाले ह्याकरको उक्त योजनाअन्तर्गत अन्य बैंकबाट पनि ट्रान्सफर गर्ने तयारी हुन सक्ने आशंका गरे।

‘ जुन पैसा ट्रान्सफर भएको छ त्यो पीएल अकाउन्टको पैसा हो। लहान शाखाको पीएल अकाउन्टमा त्यति नै पैसा थियो जति ट्रान्सफर भयो’, अर्यालले भने। गत महिना चिनियाँ ह्याकरले राजधानीका विभिन्न एटीएमबाट करडौँ रुपैयाँ झिकेका थिए। तीमध्ये करिब दुई करोड रुपैयाँ प्रहरीले बरामद गर्‍यो।

पाँच चिनियाँ र एक फ्रान्सेली नागरिक तथा तीन जना नेपाली उक्त प्रकरणमा समातिएका थिए। चिनियाँले एटीएम ह्याक गरि झिकेको पैसा डलरमा साँटेको भेटिएपछि मनि चेन्जर सन्चालक नेपाली नागरिक पक्राउ परेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?