
काठमाडौं- अमेरिकामा आइफोन १० किन्न करिब १ लाख रुपैयाँसम्म चाहिन्छ तर यसको लत लागेमा करिब २६ लाख रुपैयाँ छुटाउनै लाग्छ। अर्थात आइफोनको मूल्यको ४० गुणा बढी। यो सबै खर्च करोडपतिहरुले आफ्नो बालबालिकाको लत छुटाउन गरिरहेको समाचार बीबीसीले उल्लेख गरेको छ।
पछिल्लो पाँच वर्षमा स्मार्टफोनको माग दिन दुईगुणा र रात चौगुणा बढिरहेको छ। सिलिकन भ्यालीमा सबैभन्दा बढी कम्पनीहरु फेसबुक, ट्विटर, एप्पल तथा गुगलको आसपासमै दर्जनौँ क्लिनिकहरु बालबालिकाको लत छुटाउनका लागि खोलिएका छन्।
यो क्लिनिक त्यही बालकको उपचारको लागि खोलिएको हो जसले दिनमा करीब २० घण्टा मोबाइल चलाउने गर्दछन्।
क्लिनिकको खर्च कति ?
सान फ्रान्सिस्कोदेखि करीब ३० किलोमिटरको दूरीमा एउटा भवनमा यस्तो एउटा क्लिनिक खोलिएको छ।
पहाडको सबैभन्दा अग्लो टाकुरामा हरियालीको बीचमा स्थापित उक्त क्लिनिकमा स्मार्टफोनका दुर्व्यसनीको ४५ दिनसम्म उपचार गर्ने गरिन्छ।
क्लिनिकको खर्च महंगो सेवाको रुपमा तय गरिएको छ। यदि आरामदायी खाना तथा तातोपानीमा नुहाउने सुविधा लिएमा एक रातको करिब एक लाख रुपैयाँ खर्च गर्नु पर्ने हुन्छ।
महलभित्र मोबाइल फोन, ल्यापटप तथा ट्याबलेट चलाउन प्रतिबन्ध गरिएको छ। त्यहाँ कम्प्युटरको प्रयोग कक्षामा मात्र हुन्छ।
लत छुटाउन यहाँ आएका युवाहरुको रेखदेख भने मनोविद् शिक्षकले गर्छन्। यसका साथै उनीहरुलाई विशेष प्रकारको थेरापी समेत दिने गरिन्छ जसले इन्टरनेटको लतलाई छुट्टाउन मद्दत पुगोस्।
मनोविद्ले मोबाइलका विरामीहरुलाई उसको परिवार, पढाइ, साथीभाई तथा अफलाइन काममा बढी समय बिताउन उत्प्रेरित गर्छन्।
इन्टरनेटमा विद्यार्थीलाई सीमा निर्धारण
यसबारेमा क्लिनिकका निर्देशक डेनियल कोवाक्स भन्छन्, ‘ हामी उसको जीवनलाई अनलाइनबाट अफलाइनमा बदल्ने गर्दछौँ। सबैभन्दा राम्रो हामीलाई तब लाग्छ जब युवाहरु उपचारको माध्यमबाट निको भएर हामीलाई धन्यवादको शब्द टक्र्याउँछन्।’
उनी भन्छन्, ‘अमेरिकामा धेरै युवाको लत इन्टरनेटमा छ। यसले धेरैको घरपरिवार, पढाइ र सम्बन्ध टुटेको छ। यही नै एक प्रकारको विमारी हो।’
यस्तै अस्ट्रेलिया, चीन इटाली तथा जापानमा पनि इन्टरनेट बढी प्रयोग गर्नेलाई विमारी मान्ने चलन छ भने दक्षिण कोरियामा उनीहरुको उपचार केन्द्र खोलिएको छ।
निर्देशक डेनियल कोवासक्स बताउँछन्, ‘इन्टरनेटको लत जब बालबालिकामा पर्छ, तब फेसबुक, इन्स्ट्राग्राम जस्ता सामााजिक सञ्जालमा उनीहरुको नित्य कर्म नै बन्छ। यसले उनीहरुको सबेरै स्कुल जाने बानी छुट्छ भने पढाइमा ध्यान केन्द्रित गर्न पाउँदैनन्।’
उनी अभिभावकलाई सचेत गराउँदै भन्छन्, ‘ जब विद्यार्थी स्कुल जान छोड्न थाल्छ, घरमा इन्टरनेट काटियो र ऊसमा रिस उत्पन्न भयो, सामाजिक सञ्जाल लुकेर हेर्ने बानी लाग्यो, झुठ बोल्न थाल्यो अनि एकान्तमा समय बिताउन थाल्यो र परिवारबाट टाढा हुन थाल्यो भने बुझ्नु पर्छ की विद्यार्थीलाई इन्टरनेटको लत लागि सकेको छ।’
उनले अभिभावकलाई इन्टरनेटको प्रयोगमा सीमा निर्धारण र निगरानी गर्नु पर्ने सुझाव दिन्छन भने खाना खाने बेलामा कम्प्युटर, इन्टरनेट र आइप्याड र टेलिफोन प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने बताउँछन्।