
काठमाडौँ – क्रिकेटर पारस खड्काले नेपाली राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिने निर्णय आफूले हतार या अप्रत्यासित रुपमा नलिएको बताएका छन् ।
नेपाली क्रिकेटमा नयाँ सुरुवातका लागि आफूले कप्तानबाट राजीनामा दिएको क्रिकेटर खड्काले बताए । सन् २००९ देखि नेपाली टोलीको कप्तान रहेका खड्काले मंगलबार पद छोडेको घोषणा गरेका हुन् ।
आफ्नो राजीनामाका सम्बन्धमा पत्रकारसँग कुरा गर्दै खड्काले भने, ‘म सन्तुष्ट छु । असन्तुष्टिले राजीनामा दिएको होइन । नेपाली क्रिकेटको नयाँ सुरुवातका लागि राजीनामा दिएको हो ।’
उनले अघि भने, ‘राजीनामाको निर्णय रातारात लिएको होइन । मैले राष्ट्रिय टिमबाट खेल्न पाउँला भन्ने सोचेकै थिइन । कप्तानी नै गर्ने अवसर पाएँ ।’
उनले क्रिकेट आफ्ना लागि अति नै प्रिय र पुजनीय रहेको खड्काले बताए । उनले भने, ‘म खेल्न चाहन्छु । खेलाडीका रुपमा सक्रिय रहने छु । तर केही समय ब्रेक भने लिने छु । त्यसपछि फेरि सक्रिय हुन चाहन्छु । तर कप्तानबाट राजीनामाको निर्णय भने फिर्ता हुने छैन ।’
उनले भने, ‘क्यानको निलम्बन फुकुवाको पर्खाई रहेको र त्यो पूरा भएसँगै मैले राजीनामा दिएको हुँ।’
उनले अब उपरान्त नखेल्ने संकेत गर्दै भने, ‘म टिममा रहने छु या छैन भन्ने निर्णय क्यानले गर्ने छ ।’
नेपाली क्रिकेटको विकास र बिस्तारका लागि हाल पर्याप्त स्रोत रहेको उनले बताए । उनले भने, ‘क्यान अब क्रिकेट र क्रिकेटरको विकासका लागि केन्द्रित हुनु पर्छ ।’
उनले आफ्नो खेलका बारेमा भने, ‘हुन सक्छ म राम्रो खेलाडी होइन होला, तर मैले राष्ट्रिय टिमका लागि जे गरेँ त्यो सबै पूरै इमादारीका साथ गरेँ ।’
क्रिकेटले आफूलाई कल्पना नै गरेका चिजहरु दिएको उनले बताएका छन् । उनले भने, ‘मेरो कप्तानीको अवधिमा राष्ट्रिय टोलीले एक दिवसीय मान्यता पाउनु सबैभन्दा गर्व र खुशीको कुरा हो ।’
पारसले अब आफूलाई पनि समय चाहिने बताए । तर आफू जहिले पनि क्रिकेटसँगै जोडिने बताएका छन् । उनले कम्तिमा एक वर्ष नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नु पर्ने पनि बताए ।