
झापा – प्रदेश नं १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘म अघि बढ्छु’ कार्यक्रम सञ्चालन गरिरहेको छ।
मन्त्रालयका अनुसार उक्त कार्यक्रम लागु पदार्थ दुर्व्यसनविरुद्ध लक्षित छ। प्रदेश नं १ का विभिन्न शहर तथा गाउँमा लागु पदार्थको उपभोग बढ्न थालेपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अभियान नै सञ्चालन गर्नु परेको मन्त्री हिक्मत कार्कीले जानकारी दिए।
उनले भने, ‘हामीले सुसंस्कृत समाजको निर्माण गर्नु छ। त्यस्का लागि सबभन्दा पहिला लागु पदार्थ दुर्वयसन नियन्त्रण गर्न जरुरी भएर हामीले यो कार्यक्रम अगाडि ल्याएका हौँ।’
खासगरी विद्यालय स्तरमा उक्त कार्यक्रम सञ्चालन भइरहेको मन्त्री कार्कीले बताए।
मंगलबार झापाको विर्तामोडमा आयोजित ‘म अघि बढ्छु’ अन्तर्गत शिक्षक नायक अभिमुखिकरण कार्यक्रममा मन्त्री कार्की बोल्दै थिए।
उक्त अभिमुखिकरण कार्यक्रममा झापाका विभिन्न स्थानीय तहका माध्यमिक विद्यालयका शिक्षकहरु सहभागी छन्। कार्यक्रममा सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरुको सहभागिता छ।
प्रदेश १ का करिब २ हजार माध्यमिक तहका विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गर्ने र सबै विद्यालयहरुमा ‘सगरमाथा टिन्स क्लब’ स्थापना गरिने मन्त्री कार्कीले बताए।
उनले भने, ‘हामीले करिब १५ सय विद्यालयमा कार्यक्रम गरिसकेका छौं। कार्यक्रममा बताए अनुसार जुन विद्यालयले राम्रो काम गर्छ त्यस्लाई पुरस्कृत गर्ने योजना बनाएका छौँ।’
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लामो छलफलको आयोजना गरेर गहन विषयमा कार्यक्रम गर्ने भने यो कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।
मन्त्री कार्कीले भने, ‘लागु पदार्थ दुर्व्यसनले हाम्रो परिवार तथा समाजलाई डामाडोल बनाउँदैछ,’ उनले प्रश्न गरे, ‘परिवारमा एउटा दुर्व्यसनी निस्क्यो भने के हुन्छ?’
शिक्षक नायक अभिमुखिकरण किन?
विद्यालयस्तरका विद्यार्थीहरुका लागि दुर्व्यसनका बारेमा बुझाउने सबभन्दा महत्वपूर्ण भूमिका शिक्षकको हुने भएकाले शिक्षक नायक अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
‘शिक्षकले भनेको कुरा विद्यार्थीले मान्छन्,’ मन्त्री कार्कीले भने, ‘घरका अभिभावकको कुरा भन्दा शिक्षकले भनेको कुरामा विद्यार्थी ज्यादा महत्व दिन्छन्।’
उनले शिक्षकहरुलाई समाज रुपान्तरणका लागि निस्वार्थ भूमिका खेलिदिन समेत आग्रह गरे।
उनले भने, ‘तपाईंहरुले अलिकति बल गरिदिनु भयो भने धेरै विद्यार्थी दुर्व्यसनबाट जोगिन्छन्। कुनै पूर्वाग्रह नराखी यति सहयोग गरिदिनुहोस्।’