
विर्तामोड- झापाको विर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालाको जस्तो मैदान देशभरका खेल मैदानहरुमध्येमा कमै देख्न पाइन्छ।
विभिन्न अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिताहरुमा देखिने गरेको जस्तो खेलमैदान दर्शकले डोमालाल राजवंशी रंगशालामा देख्न पाउनेछन्।
तर उक्त खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता छैन। प्राकृतिक घाँसे मैदानलाई मिलाएर काटेर बुट्टादार बनाइएको छ।
उक्त खेल मैदानमा राजधानी काठमाडौं बाहिरको सर्वाधिक पुरस्कार राशिको ‘तेस्रो झापा गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुँदैछ। उक्त फुटबल प्रतियोगिता यही फागुन १९ गतेबाट सुरु हुँदैछ।
डोमालाल राजवंशी रंगशालामा करिब पाँच हजार दर्शक बस्न सक्ने गरि बाँसको प्यारापिटको निर्माण गरिएको छ। उक्त खेल मैदान हेर्न आउने धेरैले ‘मैदान यस्तो पो हुनुपर्छ त’ भन्दै प्रशंसा गर्ने गरेका छन्।
झापा गोल्डकप प्रतियोगितामा जम्मा १० वटा टोलीले सहभागिता जनाउँदैछन्। आयोजक टोली रमपम झापा ११ लगायत थ्री स्टार, मनाङ मर्स्याङदी, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, सहारा क्लब पोखरा, रुपन्देही ११, सुदूर पश्चिम र भारतको सिक्किम युनाइटेड क्लब प्रतियोगितामा उत्रने गोल्डकप मूल आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए।
प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ। उक्त प्रतियोगिताको विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख नगद पुरस्कार पाउने गिरीले बताए। उनका अनुसार प्रतियोगितामा प्रत्येक दिनका म्यान अफ द म्याचलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल प्रदान गरिने उनले जानकारी दिए।त्यसैगरी रमपम झापा ११ का एकजना खेलाडीलाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड स्वरुप एउटा मोटरसाइकल प्रदान गरिनेछ।
झापा ११ का दुई जना खेलाडीलाई अनुबन्ध गर्न शुरु गरिएको जनाउदै गिरीले यस बर्ष कम्तीमा अनुबन्धित खेलाडीको संख्या कम्तीमा ७ पुर्याइने गिरीले बताए।