
काठमाडौँ – पत्रकार भैरव रिसाल सोमबार काठमाडौँमा आयोजित एउटा कार्यक्रममा एकाएक आक्रोशित बने। उनको आक्रोश नेपालको वास्तविक नक्सा परिवर्तन भएको विषयमा केन्द्रित थियो। उनले आक्रोश पोखे, ‘नेपालको चुच्चे नक्सालाई बुच्चे कस्ले बनायो? जस्ले बुच्चे बनाएको त्यस्लाई कारबाही गर्नुपर्छ ।’
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र नीति अनुसन्धान प्रतिष्ठानले सोमबार आयोजना गरेको अन्तर्राष्ट्रिय सीमा र यसको प्रभावकारी व्यवस्थापन विषयको सम्वाद कार्यक्रममा सीमा विषयमा भारतले नेपालसँग धेरै बदमासी गरिरहेको बताए।
रिसालले भने, ‘भारतले धेरै बदमासी गर्यो, ज–जस्ले बदमासी गरेको हो कारबाही हुनुपर्छ।’ उनले दार्चुला जिल्लाको व्यासमा पर्ने विवादित लिपुलेकको २०१८ सालमा आफूले जनगणना गरेको बताएका छन्।
सोही क्षेत्रलाई अहिले भारतले आफ्नो भूमि भन्दै दाबी गर्दै आएको छ।
सीमामा राज्यको उपस्थिति खोइ?
सीमा बारे लामो अध्ययन गरेकाहरुले नेपाल र भारतबीचको सीमामा नेपालको उपस्थिति नभएका कारण सीमाका विवाददिनहुँ बढ्दै गएको बताएका छन्। सम्वाद कार्यक्रममा उपस्थित नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बरालले भारततर्फ उसका फौज तैनाथ रहि आएका तर नेपाल तर्फको भने उपस्थिति नै नभएको बताए।
उनले भने, ‘भारतमा अंग्रेज शासन र नेपालमा राणा शासन भएका बेला सीमा चुस्त थिए। तर जब भारतमा र नेपालमा प्रजातन्त्र आयो। सीमा विवाद बढेर गयो। बरु नेपालमा राणा शासनका बेला सीमा निगरानी बढी थियो।’नापी विभागका अर्का पूर्वमहानिर्देशक पूण्यप्रसाद ओलीले सीमाका विषयमा २०३० सालतिर राज्य व्यवस्था राम्रो भएको बताए। उनले भने, ‘त्यो बेला राम्रो थियो।अहिले त खत्तम छ।’
विगत लामो समयदेखि सुस्तामा संघर्ष गर्दै आएका नेपालीहरुले जबसम्म सीमा विवाद मिल्दैन र भारतले अतिक्रमण गरेको भूमि फिर्ता हुँदैन तबसम्म आन्दोलन जारी राख्ने बताए। सुस्ताबासी गोपाल गुरुङले भने, ‘२०६२ सालदेखि सुस्तामा भारतद्वारा अतिक्रमण सुरु भयो। तर हामी थाकेका छैनौँ।’
उनले नेपाली सीमा क्षेत्रमा सुरक्षा पोस्ट स्थापना गर्नुपर्नेमा जोड दिए। दार्चुलाबासी करबीरसिंह कार्कीले नेपालले सीमा क्षेत्रसम्म पुग्नका लागि पूर्वाधार निर्माणमा ध्यान नदिएको बताए। उनले भने, ‘भारतले सीमा क्षेत्रमा धेरै सुविधा दिएको छ तर नेपालको खोइ उपस्थिति? पूर्वाधार निर्माण खोइ?