झापा – दुर्घटना न्यूनिकरणका लागि प्रधानमन्त्रीले दिएको निर्देशनपछि यातायात व्यवस्था विभागले सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने लगायत विभिन्न निर्देशन जारी गरेको छ।
चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने निर्देशनसँगै विभागले सबै प्रकारका सार्वजनिक सवारीसाधनमा अनिर्वाय रुपमा भाडादर टाँस्नुपर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।
उनले भने, ‘प्रधानमन्त्रीज्यूको निर्देशन तथा चासोपछि हामीले तत्काल गर्न सकिने कुरा उल्लेख गरेर विभिन्न क्षेत्रका व्यक्तिहरुसँग बसेर यी नियम लगाएका हौँ। विशेषगरि चप्पल चिप्लिएर भनेको ठाउँमा ब्रेक नलाग्ने, ब्रेक थिच्नुपर्ने ठाउँमा एक्सिलरेटर थिचिने घटना विगतमा भएकाले यो नियम लागु गरेका हौँ।’
विभागको निर्देशन अनुसार सवारीसाधनको चालकको फोटोसहितको सवारीचालक अनुमतीपत्रको विवरण टाँस गर्नुपर्ने, लामो दूरीका सवारीमा प्रयोग गर्ने प्रयोजनार्थ रिसोलिङ गरिएको टायर अगाडिको चक्कामा राख्न नपाईने, ढोकामा नै यात्रु क्षमता र सवारीमा मौजुदा यात्रुको सङख्या टाँस्न अनिवार्य गरिएको छ।
सवारीमा लेखिएका सबै किसिमका स्लोगन वा कोटेशन मेटाउने, सवारीसाधनको क्याविनमा अनावश्यक सजावटका सामान एवम् म्युजिक सिस्टम नराख्ने नियम विभागले लगाएको छ।
जुत्ता नलगाए चालकलाई कारवाही गरिने
सवारी साधनका चालकले जुत्ता लगाएर सवारी साधन नचलाए बस वा व्यवसायीलाई कारवाही नगरेर सिधै चालकलाई कारवाही गरिने विभागले जनाएको छ।
विभागका महानिर्देशक हमालले चालकलाई जवाफदेही बनाउन यो नियम लागु गरिएको जानकारी दिए।
उनले भने, ‘अन्य कसूरमा व्यवसायी वा बस नियन्त्रणमा लिएर कारवाही अगाडि बढाउने गरिएकोमा जुत्ता नलगाएको कुरामा सिधै चालक नै कारवाहीमा पर्नेछन्।’
काठमाडौँ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालका अनुसार विभागको परिपत्र प्राप्त भएसँगै चालकले जुत्ता लगाउनुपर्ने नियम पालना गराउन ट्राफिक प्रहरीका सबै इकाइमा परिपत्र गरिएको छ।
उनले भने, ‘पहिला चालकहरुलाई सम्झाउने, अटेर गरेमा कारवाही गर्नेछौँ।’

भर्खरै
लोकप्रिय






































































































































































































