
झापा– नेपालका फोरेन्सिक विज्ञ प्राध्यापक डा. हरिहर वस्तीले नेपालका सरकारी अस्पतालहरुमा पोस्टमार्टम लगायत फोरेन्सिक काम गर्न साधारण चिकित्सकलाई लगाएर सरकारले जनतालाई ठगेको बताएका छन्।
उनले नेपालमा भरपर्दो फोरेन्सिक प्रयोगशाला तथा जनशक्ति पनि पर्याप्त नभएको बताए। डा। वस्तीले भने, ‘सरकारले यस्तो जनशक्ति उत्पादन गरेर अनुसन्धानमा सहयोग पुग्छ भन्ने कुरा सोचेकै छैन।’
बुधबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत झापाको बिर्तामोडमा आयोजित अन्तर्क्रिया कार्यक्रममा साधारण एमबीबीएस गरेको चिकित्सकले पोस्टमार्टमको रिपोर्ट राम्रो दिन नसक्ने भन्दै उनले एमबीबीएस मात्र गरेको मान्छेले पोस्टमार्टम गर्नु राज्यले गरेको अपराध भएको बताए।
उनले भने, ‘मैले यसो भनिरहँदा तपाईंहरुलाई अचम्म लाग्छ होला तर यथार्थ यही हो।’
फोरेन्सिक रिपोर्ट सही नआउँदा पीडित पनि नराम्ररी प्रभावित भइरहेको डा. वस्तीको भनाइ थियो। उनले भने, ‘साँच्चै भन्ने हो भने नेपालमा फोरेन्सिक भनेको के हो भन्ने नै धेरैलाई थाह छैन।
उनले फोरेन्सिकबारे जान्ने मान्छे भए पनि उसलाई काम दिने नगरिएको बताए।
जिल्ला प्रहरी कार्यालय झापाको अगुवाइमा कानुनी चिकित्सक र विद्यमान कानुनी व्यवस्थाहरुको बारेमा सरोकारवालाहरु सँगको एक दिने अन्तर्क्रिया कार्यक्रममा महान्यायधिवक्ता अग्निप्रसाद खरेल पनि उपस्थित थिए।
जिल्ला प्रहरी कार्यालय झापा, इलाम, पाँचथर तथा मातहत प्रहरी कार्यालयका कार्यालय प्रमुख, अनुसन्धान अधिकृत तथा घटनास्थल अधिकृत लगायत अन्दाजी १ सय १५ जनाको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो।